समाचार

महिलामा हुने विभेद व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ- बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला सङ्घ÷संस्थाले पहल गर्नुपर्नेमा जोड दिए ।

“कानूनीरुपमा महिलामा शिक्षा, स्वास्थ्य, नागरिकता र सम्पत्तिको अधिकार सुनिश्चित भएको छ तर व्यावहारिक रुपमा पछाडि पारिएकाले हामी सबै मिलेर त्यसको समाधान गर्नुपर्छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भने ।

सूचना, सञ्चार र प्रविधि सदुपयोग गरेर योे क्षेत्रमा महिलाको बढीभन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचार अन्त्यका लागि पनि यस क्षेत्रमा महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने बताए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

उक्त दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने विभिन्न सङ्घ÷संस्थालाई सम्मान गरिनाका साथै प्रभातफेरी र आइसिटी प्रदर्शनीसमेत गरिएको थियो । प्रभातफेरीमा सहभागीले ‘आइसिटी हामी नारी जुटौँ देशमा विकासको मूल फुटाऊँ’, ‘आइसिटीबाट बालिकाको भविष्य सुनिश्चित गरौँ’, ‘सूचना तथा सञ्चार प्रविधिमा किशोरीको सहभागिता, डिजिटल नेपाल निर्माणमा प्रभावकारिता’ र ‘प्रविधिमा महिलाको पहुँच बराबर डिजिटल नेपालको सपना साकार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।