अन्तर्राष्ट्रिय

सुडान सङ्कटः तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी

खार्तुम । सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन्। तर उनीहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ ।

राजीनामा गर्नेहरुमा परिषदको राजनीतिक समितिको नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल ओमार जाइन अल–अबिदीन सहित लेफ्टिनेन्ट जनरलद्वय जलाल अल–दीन अल–शेख र अल–तायिब बबाकर अलि फादील छन्। सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता सुडानी पेशागत सङ्घ (एसपिए) ले सैनिक परिषद विरुद्ध राजधानी खार्तुम सहित देशका प्रमुख शहर र ग्रामीण इलाकामा दशौं लाख जनतालाई सडकमा उत्रन आह्वान गरेसँगै सैनिक अधिकारीहरुले राजीनामा दिएका छन्।

सङ्घले प्रदर्शनमा उत्रिएका जनतालाई दमन गरेको र धेरै प्रदर्शनकारीको हत्या आरोप लागेका यी तीनै अधिकारीलाई परिषदबाट तत्काल बर्खास्त गर्न माग गरिरहेको छ । बुधबार साँझ विपक्षी र सैनिक परिषदबीच आपसी मतान्तर सुल्झाउन एउटा समिति गठन गर्न सहमति भएको थियो । सुडानका तत्कालीन शासक ओमार अल–बसिरलाई सेनाले नै सत्ताच्यूत गरेपनि नागरिक सरकार गठन हुन सकेको छैन । बरु सेनाको नयाँ नेतृत्वले सैनिक परिषदको नाममा पुनः सैनिक शासन चलाउने प्रयत्न थालेको सुडानी विपक्षीहरुको आरोप छ ।

“सुडानको वर्तमान सङ्कटको सुरक्षित अवतरणका लागि सेना र विपक्षीबीच छलफल जारी छ र हामी दुबै सङ्कट समाधानमा सहयात्री हुन चाहन्छौं,” सैनिक परिषदका प्रवक्ता शाम्स अल दिन कब्बासीले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् । उनले भने, “सैनिक परिषदले वार्ताका लागि विपक्षीहरुलाई आमन्त्रण गरिसकेको छ, र संवाद एवं सम्झौताका लागि परिषद खुला छ ।”

विपक्षीहरुले पनि समस्याको समाधान वार्ताबाटै गर्न चाहेको बताएका छन् । एसपिएले जारी गरेको पछिल्लो वक्तव्यमा “हाम्रो एक मात्र चाहना सङ्क्रमणकालीन नागरिक शक्तिलाई सत्ताको शान्तिपूर्ण हस्तान्तरण हो र यसले मात्र क्रान्तिका सहभागीको भावनालाई प्रतिबिम्बित गर्नेछ” भनिएको छ । सत्ता हस्तान्तरण बाहेक अन्य विषयमा सैनिक परिषदसँग वार्ता गर्न आफूहरु तयार नभएको पनि एसपिएले स्पष्ट गरेको छ ।

मङ्गलबार सेनाले सैनिक मुख्यालय र रक्षा मन्त्रालय बाहिर प्रदर्शनकारीले सडकमा राखेका अबरोधहरु हटाउने प्रयत्न गरेको थियो । तर प्रदर्शनकारीहरुले मुख्य सडकमा अझ बढी अबरोधहरु खडा गरेका छन् । सुडानमा सैनिक शासनको विरोधमा महिनौंदेखि प्रदर्शन जारी छन् । बर्तमान सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने जनताको माग छ ।

प्रदर्शनकै बीचमा करिब ३० वर्ष शासन चलाएका तत्कालीन राष्ट्रपति बसिरलाई सेनाले गत अप्रिल ११ तारिखका दिन नै अपदस्थ गरेको छ । उहाँलाई हाल सेनाले नजरबन्दमा राखेको बताइन्छ ।