बाग्मती

चार वर्षमा ३० प्रतिशत मात्र घर बने

चितवन । भूकम्प गएको चार वर्ष पुग्दैगर्दा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाका सात हजार ३३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये दुई हजार २१५ घर मात्रै बन्न भ्याएका छन् ।

भूकम्पबाट क्षति भएका घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार घर निर्माणले गति लिनसकेको छैन ।

कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार जिल्लामा रहेका लाभग्राहीमध्ये पहिलो किस्ता सम्झौता गर्नेमा पाँच हजार ८१० घरधुरी रहेका छन् । उनीहरुले पहिलो किस्तावापतको रु ५० हजार लगिसकेका छन् । यस्तै पहिलो किस्ता लानेमध्ये तीन हजार ८४२ घरधुरीले दोस्रो किस्तावापतको रु एक लाख ५० हजार लगेका छन् । तेस्रो किस्तावापत लाभग्राहीलाई सरकारले निर्माणको काम सम्पन्न प्रमाणित भइसकेपछि रु एक लाख दिने प्रावधान बनाएको छ ।

जिल्लामा विसं २०७४ साउनमा कार्यालय स्थापना भएको भए पनि प्राविधिकहरु पुसबाट मात्रै कार्यक्षेत्रमा आएका कारण कामलाई चुस्त बनाउन नसकिएको नेपालले बताए। प्राविधिक कार्यक्षेत्रमा जानुअगाडि नै प्राधिकरणको मापदण्डविपरीत घर बनाउनु, वन क्षेत्रमा रहेका लाभग्राही र ऐलानी जग्गामा रहेका घरधुरीको विषयमा सरकारले निर्णय गर्न ढिलाइ गर्नुले कामलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको उनले जानकारी दिए ।

विसं. २०७२ मा आएको बिनाशकारी भूकम्पका कारण जिल्लामा ५९३ घरधुरी आङ्शिकरूपमा क्षति भएका थिए । तीमध्ये ४३१ ले मात्र पहिलो किस्ता सम्झौता गरेको भए पनि दोस्रो किस्ताका लागि कोही नआएको उहाँले जानकारी दिए।

पुनःनिर्माण प्राधिकरणले गुनासो सुनुवाइका लागि आवेदन माग गरेको समयमा जिल्लाबाट छ हजार १८ उजुरी परेका थिए । परेका उजुरीमाथि गाँउमा गएर अनुगमन गर्ने काम भइरहेको छ । कार्यालयले जिल्लामा प्रभावकारी रूपमा काम गर्ने तीन वडालाई सम्मानका लागि प्राधिकरणमा सिफारिशसमेत गरेको छ । सम्मानका लागि छानिएका वडा सबै इच्छाकामना गाउँपालिकाका रहेका छन् । गाउँपालिकाको वडा नं १, ३ र ४ सम्मानका लागि छनोट भएको नेपालले बताए।