शिक्षा

सामुदायिक विद्यालयप्रति आकर्षण

रुकुमपूर्व । सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा रुकुमपूर्वको एक विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल भएपछि विद्यार्थीको आकर्षण बढीरहेको छ ।

सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालय केही वर्ष यतादेखि अभिभावक र विद्यार्थी दुवैको रोजाइ बन्न थालेको हो । प्रशस्त कक्षा कोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पिउने पानीको व्यवस्था, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले आफूहरुलाई लालायित पारेको विद्यार्थी प्रकाश बस्नेतले बताए । उनले भने, “यस विद्यालयले मलाई शिक्षा मात्र दिएन, एक खेलाडीको रुपमा पनि परिचित गरायो ।”

रुकुमपूर्वको एकमात्र विद्यालय नमुना विद्यालयमा छनोट भएको हो । विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, दश रोपनी जग्गासहितको हाता, कक्षा १ देखि १२ सम्मको कक्षा सञ्चालन, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ सालमा नमूना विद्यालय छनोट गरिएको थियो ।

नर्सरी कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपाली, विज्ञान, सीटीईभीटीबाट मान्यता प्राप्त कृषि जेटीए, कृषि तथा व्यावसायिक धार पढाइ हुने रुक्मिणी मावि जिल्लाकै सबैभन्दा पुरानो विद्यालय हो । यस विद्यालय जिल्लामै धेरै विद्यार्थी सङ्ख्या भएको विद्यालय हो । विद्यालयमा अहिले झण्डै १४ सयको हारहारीमा विद्यार्थी सङ्ख्या अध्ययनरत् छन् । यहाँ अध्ययनका निम्ति दाङ, रोल्पा र सल्यानबाट समेत विद्यार्थी आएका छन् ।

सरकारी विद्यालयमा पनि नर्सरीदेखि कक्षा ५ सम्म अङ्गे्रजी माध्यमबाट पढाइ हुन थालेपछि यस विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक हरिबहादुर थापाले बताए । उनका अनुसार अहिले विद्यालयले जिल्लामै पहिलो पटक विद्यालय बस किनेर विद्यार्थीलाई विनाशुल्क सेवा दिन थालेपछि विद्यालयप्रतिको आकर्षण झन बढेको हो ।

‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइलाई ठिक उल्टो पार्ने गरी विद्यालयका केही शिक्षक कर्मचारीहरु र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घाम नलाग्दै विद्यालयमा पुग्ने र साँझैसम्म काममा खट्ने गरेको विद्यालयका सहयोगी भुपाल थापाले बताए ।

समयमै विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी र शिक्षकलाई अनुशासनमा डो¥याउन सहज हुने प्रधानाध्यापक कृष्ण गौतमको अनुभव छ । विज्ञान र प्रविधिको यस युगमा समयसापेक्ष शिक्षा हासिल गराउने उद्देश्यले विद्यालयमा आवश्यक कम्पुटर पनि उपलब्ध रहेको विद्यालयले जनाएको छ ।
नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा ११६ सरकारी तथा ५ वटा संस्थागत विद्यालय रहेका छन् ।