गण्डकी प्रदेश

‘एक घर एक धारा’ आयोजना सञ्चालन

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत रु ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेशसभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भएको वडाध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।

स्थानीयस्तरमा रहेका खानेपानीका मुहान संरक्षण र स्रोतलाई एकीकृत गरी हरेक घरमा खानेपानी उपलब्ध गराइने भएको छ । उपभोक्ता समितिले आयोजनाको ट्याङ्की निर्माण र पाइपलाइन विस्तार गर्न थालेको छ । विभिन्न नौ ठाउँमा ट्याङ्की निर्माण गरी छरिएर रहेका खानेपानीका स्रोतलाई एकीकृत गरी घरघरमा खानेपानी पु¥याउने लक्ष्यसहित आयोजना शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर भण्डारीले जानकारी दिए ।

हरेक ट्याङ्की ३० हजार लिटर क्षमताका रहनेछन् । यस आयोजनाबाट भगवतीका ९५० घरधुरीका चार हजारभन्दा बढीमा शुद्ध खानेपानी उपलब्ध गराइने लक्ष्य छ । गाउँपालिकामार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा अध्यक्ष भण्डारी र प्रदेश सरकारमार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा मित्रलाल सुवेदीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर निर्माण कार्य शुरु गरिएको वडा कार्यालयले जनाएको छ ।