कर्णाली प्रदेश

ग्रामीण भेगमा पाठेघर समस्या

जुम्ला । पातारासी गाउँपालिका ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गरिन् ।

उनको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उनले भनिन्, “सधैँ गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण देखिएकाले स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो ।” त्यस्तै अर्का स्थानीय ६५ वर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा पाठेघरकै समस्या देखियो ।

गाउँपालिकाका स्वास्थ्य उपसंयोजक रतन बुढ्थापाका अनुसार निःशुल्क उपचारसहितको स्वास्थ्य परीक्षणमा यहाँका अधिकांश महिलाको पाठेघरमा समस्या देखिएको छ । उनले भनिन्, “महिलाको पाठेघरमा समस्या देखिनुको प्रमुख कारण भनेको कलिलै उमेरमा विवाह गर्नु, प्रजनन अङ्ग परिपक्व नहुँदै बच्चा जन्माउनु, बढी बोझिला काम गर्ने र पोषणयुक्त खानाको आभाव नै हो ।”

उनका अनुसार यहाँको घरदैलोमै निःशुल्क स्वास्थ्य परीक्षण गरी महिलाका पाठेघरमा देखिएका समस्याका विषयमा औषधि उपचारदेखि जटिल समस्या देखिएका महिलालाई सुविधा सम्पन्न अस्पतालमा पठाउने व्यवस्था गरिएको छ ।

घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा

जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गाउँपालिकाले घरदैलोमै विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक बुनेशकुमार बादलसहितको दर्जन स्वास्थ्यकर्मीको टोली र औषधि घरदैलोमै पुर्‍याएर निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिइएको हो ।

गाउँपालिकाद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, कान, दाँत, हाडजोर्नी, छाला र स्त्री रोगसम्बन्धी जाँच गरिएको छ । शिविरको पहिलो दिनमै ५०० को स्वास्थ्य परीक्षण गरिएको छ ।

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएको गाउँपालिका–४ डोलकाटीका लक्ष्मण बुढाले बताए । उनले भने, “स्वास्थ्य संस्थामा औषधि अभाव र विशेषज्ञ चिकित्सकको सेवा नदेखेका स्थानीयले सहजै स्वास्थ्य सेवा पाएपछि हामी अत्यन्त खुशी छौँ ।”

पटकपटक गाउँपालिका बाहिर वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट विशेषज्ञ चिकित्सक ल्याएर निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष बोहोराले बताए।