बाग्मती

चार वर्षमा पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ ।

निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी/साङ्बा २७.४ किमी र काठमाडौँको साँखु–पालुवारी–नगरकोटको १०.१ किमीको काम सकिएको हो । पाँचवटै सडक आयोजना पुनःनिर्माणका लागि एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोग रहेको एकाईका आयोजना उपनिर्देशक वरिष्ठ डिभिजनल इञ्जिनीयर अमृत श्रेष्ठले राससलाई जानकारी दिए।

भूकम्पले क्षति पुगेका थप १२ सडक आयोजना पुनःनिर्माणका लागि एडीबीले सहयोग गरेको छ । बाह्र सडक आयोजनाको ३०१ किमीको काम चालू आवमा सकिने गरी भइरहेको जनाइएको छ । भूकम्पले क्षति भएको २४ सडक आयोजनाको ३४९ किमी सरकार आफैँले पुनःनिर्माण गर्ने उनले सुनाए।गोरखा भूकम्पले ८३ ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पु¥याएको थियो । ३८ वटा सडक आयोजनाको ७०७ किमी पुनःनिर्माण जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पले क्षति भएका ४२ सडकको ३१६ किमीको काम शुरु हुन बाँकी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए। चालू आर्थिक वर्षमा भूकम्पले भत्किएका ६० प्रतिशत सडक पुनःनिर्माण सक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६/२०७७ सम्म ८० प्रतिशत र आव २०७७/२०७८ सम्म भूकम्पले भत्किएका सबै सडकको काम सकिने जनाइएको छ । भूकम्प प्रभावित २१ जिल्लाका सडक आयोजनाको पुनःनिर्माण भइरहेको छ । भूकम्प अति प्रभावित सिन्धुपाल्चोकका सडक आयोजना पुनःनिर्माण अझै शुरु हुन नसकेको उपनिर्देशक श्रेष्ठले स्वीकार गरे।

केही विदेशी संस्थाले सिन्धुपाल्चोकका सडक आयोजना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएकाले काम शुरु हुन नसकेको हो । भूकम्प गएको चार वर्ष पुग्दा पनि ती संस्थाले काम शुरु नगरेकाले एकाईले नै गर्ने गरी प्रस्ताव अघि बढाइएको छ । भूकम्प प्रभावित क्षेत्रका सडकका पुल हालसम्म पुनःनिर्माण हुन सकेको छैन । करीब एक दर्जन पुल पुनःनिर्माण स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको एकाईले जनाएको छ । केही पुल पुनःनिर्माणको प्रस्ताव स्वीकृत भई आउने जानकारी आएको एकाई प्रमुख गणेशराज वस्तीले सुनाए।

क्षतिग्रस्त २६२ सरकारी भवन पुनःनिर्माण

भूकम्पले भत्किएका २६२ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनुपर्ने तथ्याङ्क छ । १४५ भवन पुनःनिर्माण भइरहेको छ । आठ वटा सरकारी भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

हालसम्म ६३ प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले जानकारी दिए। आर्थिक वर्ष २०७६/२०७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७/२०७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उनले बताए। भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।

सुस्त खानेपानी आयोजना पुनःनिर्माण

भूकम्पको चार वर्ष बित्दा पनि मानवीय जीवनका लागि अत्यावश्यक खानेपानीका संरचना पुनःनिर्माणले भने गति लिन सकेको छैन । भूकम्पले क्षति पुगेका तीन हजार २१२ खानेपानी आयोजनामध्ये हालसम्म ७९१ को मात्र पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यो कूल क्षति भएकामध्ये २५ प्रतिशत मात्र हो । हाल ६७० आयोजना पुनःनिर्माण भइरहेका छन् । अझै एक हजार ७५१ आयोजना पुनःनिर्माण हुन सकेको छैन । वैशाख ८ गतेसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्क अनुसार ५५ प्रतिशत खानेपानी आयोजना बनाउने सुरसार छैन ।

आधा बढी विद्यालय भवन पुनःनिर्माण

भूकम्पले क्षति पुगेका सात हजार ५५३ विद्यालय भवनमध्ये चार हजार २५३ को पुनःनिर्माण सम्पन्न भएको छ । हाल दुई हजार १३१ विद्यालय भवन बनिरहेको छ । एक हजार १६९ विद्यालय भवन अझै पुनःनिर्माण शुरु हुन नसकेको प्राधिकरणले जनाएको छ ।

यसैगरी भूकम्पले ४९ हजार ६८१ कक्षा कोठामा क्षति पुगेको थियो । वैशाख पहिलो सातासम्म १८ हजार ४५६ कक्षा कोठा पुनःनिर्माण सम्पन्न भएको छ । १८ हजार ५५० कक्षा कोठा बनिरहेका छन् । १२ हजार ६७५ कक्षा कोठा अझै बन्न सकेको छैन ।

भूकम्पले क्षति पुगी पुनःनिर्माण गर्नुपर्ने विभिन्न विश्वविद्यालयका ३० क्याम्पसमध्ये हालसम्म दुई वटाको मात्र काम सम्पन्न भएको छ । हाल २१ क्याम्पस भवन पुनःनिर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए। सात क्याम्पस भवन अझै पुनःनिर्माण शुरु हुन सकेको छैन ।