लुम्बिनी

पुनः निर्माणमा समस्या, त्रिपालमुनि बास बसेर गुजारा चलाउन बाध्य

बेझाड, पाल्पा । निस्दी गाउँपालिका–२ सहलकोटको सुकेकोट क्षेत्रमा २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍यायो । गाउँमा रहेका सबैजसो घर पूर्णरुपमा क्षति हुन पुगे । सरकारले लगत सङ्कलन गरेर पुनःनिर्माणका लागि अनुदान रकम दिने कुराले यहाँका पीडित परिवारमा खुशीयाली छायो । सामान्य गुजारा गरेर बसेका यहाँका पीडित नागरिकले केही समय त टहरा र त्रिपालमुनि बास बसेर गुजारा चलाए ।

सरकारले भूकम्पपीडित लाभग्राहीको सूचीमा परेका परिवारलाई घर पुनःनिर्माणका लागि अनुदान रकम दिने निर्णय गरेपछि उत्साहित हुँदै पुनःनिर्माणमा जुटे । तीन किस्ता गरेर रु तीन लाख दिने भनेको रकमले घर पुनःनिर्माण सम्पन्न नहुने भएपछि यहाँका भूकम्पपीडित थप समस्यामा परेका छन् । सुकेकोटका तिलवीर रानाले पहिलो किस्ता बुझेर जसोतसो घर बनाउन शुरु गरे। सरकारले उपलब्ध गराउने भनेको रकमानुसार पुनःनिर्माणको कामलाई अगाडि बढाउन नसक्दा उनले तेस्रो किस्ता रकम पाउन सकेनन्।

“सरकारले दिने रकमले मात्र घर सम्पन्न हुँदो रहेनछ, आफूले थपेर गरौँ भन्न सक्ने अवस्था नै छैन, अहिलेसम्म घर पुनःनिर्माणको काम बीचमै रोकिएको छ” उनले भने। काठपात, ढुङ्गा, सिमेन्ट सबै सर सामान जोड्नदेखि लिएर घर बनाउने कामदार सबै गर्दा सामान्य खालको बनाउन पनि कम्तीमा रु पाँच/सात लाख लाग्ने उनी बताउँछन्। “घर पूरा नहुँदा तेस्रो किस्ता पाउन सकिएको छैन, सम्पन्न गर्नसक्ने आयस्रोत पनि केही नहुँदा झन् पिरलो थपिएको छ” उनले गुनासो गरे। सोही ठाउँकै सन्जु रानाको पनि तिलवीर रानाको जस्तै अवस्था छ ।

अनुदान रकमले घर पुनःनिर्माण कार्य सम्पन्न नहुने भएपछि निर्माणको काम बीचमै रोकिएको छ । दुई किस्ताबापत रु दुई लाख बुझ्नुभएकी रानाले घर निर्माणको काम बीचमै रोकिएपछि तेस्रो किस्ता बुझ्न सकेका छैनन्। भूकम्प गएको चार वर्ष बित्यो तर अहिराम रानालाई भने आफ्नो घर कहिले निर्माण सम्पन्न हुन्छ अझै पत्तो छैन । “सरकारले उपलब्ध गराएको अनुदान रकम गरीब विपन्नलाई न लिनु न छोड्नु जस्तै भएको छ, घर बनाउने काम शुरु गरियो तर सम्पन्न गर्न अनुदानले मात्र पुगेन, बजेट थप्न आफूसँग कुनै अर्को उपाय छैन” उनले भने।

साविक सहलकोट गाउँ विकास समितिमा मात्र ६१ घर पूर्णरुपमा क्षति भएका थिए । त्यसमध्ये सुकेकोट गाउँमा मात्रै ४१ घर पूर्णरुपमा क्षति भए । सरकारले दिएको अनुदानमा ऋण खोजेरै भए पनि जसोतसो केहीले घर बनाए भने केहीको अवस्था अत्यन्तै दयनीय छ । यहाँका ६० प्रतिशत परिवारले तीन पटकको किस्ता बुझेका छन् भने ४० प्रतिशत परिवारले तेस्रो किस्ता बुझ्न बाँकी रहेको सलहकोटका भूकम्प प्रभावित संयोजक एवम् बालहित माध्यमिक विद्यालयका शिक्षक उमेरकुमार गाहाले बताए ।

“अनुदानको भरमा मात्र बसेका गरीब, विपन्न परिवारले भूकम्प पुनःनिर्माण प्राधिकरणले तोकेअनुसारको मापदण्ड पूरा गर्न नसक्दा केहीले दोस्रो किस्ता पनि अझै बुझ्न नसकिरहेको अवस्था छ” उनले भने। ऋण लिएर बुझाउनै नसक्ने अति नै नाजुक परिवारका लागि सरकारले दिने भनिएको रु तीन लाखले पुनःनिर्माण सम्पन्न गर्न अत्यन्तै कठिनाइ पर्ने हुँदा उनीहरुलाई पुनःनिर्माणमा विशेष प्राथमिकता दिनुपर्ने उन बताए। जिल्ला प्राधिकरण कार्यालयका अनुसार पाल्पामा चार हजार ६५२ लाभग्राहीमध्ये चार हजार ६० लाभग्राहीले पहिलो किस्ता, एक हजार ९४० लाभग्राहीले दोस्रो र एक हजार २१५ लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् ।

पहिलो किस्ता बुझेकामध्ये मापदण्डअनुसार पूरा नभएपछि ५८ जनाले अनुदान रकम फिर्ता गरेका छन् । आव ०७५/०७६ मा १४९ जनालाई पहिलो किस्ताबापत रु ५० हजारका दरले रु ७४ लाख ५० हजार, ८५६ जनालाई रु एक लाख ५० हजारका दरले रु १२ करोड ८४ लाख र ८८९ जनालाई तेस्रो किस्ताबापत रु एक लाखका दरले रु आठ करोड ८९ लाख रकम प्रदान गरिएको छ । यस आर्थिक वर्षमा पहिलो किस्ता बुझेका ५३ जनाबाट रु २६ लाख ५० हजार फिर्ता भएको छ ।

विद्यालय पुनः निर्माण हुँदै

पाल्पामा भूकम्प प्रभावित विद्यालय पुनः निर्माण भइरहेका छन् । आव ०७४/०७५ मा दुईकोठे चार वटा र चारकोठे दुई वटा गरी छ वटा भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने तीनकोठे चार वटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आव ०७५/०७६ मा १७ विद्यालय भवन निर्माण भइरहेको छ । जसअन्र्तगत दुईकोठे १७ वटा, तीनकोठे चार वटा, चारकोठे १५ वटा भवन निर्माणको क्रममा रहेका छन् ।