अन्तर्राष्ट्रिय

तालिबानका जिल्ला प्रमुखसहित १७ जनाको मृत्यु

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

सरकारी सुरक्षा अधिकारीहरुले जारी गरिएको विज्ञप्तिमा दासत–ए–काला जिल्लामा तालिबान लडाकूविरुद्ध जारी यस भीषण कारबाहीमा परी तालिबान लडाकूका जिल्ला कमाण्डर रजाकसहित १७ सशस्त्र तालिवान लडाकू मारिएको उल्लेख छ । यस कारबाहीको क्रम तालिबान लडाकू समूहले कब्जा गरी राखेका कैयौं गाउँहरु पुनः नियन्त्रणमा लिएको बताइएको छ । सो इलाकामा लडाकू विमानद्वारा कारबाही जारी राखिएको छ ।

गत हप्ता दासत जिल्लामा रहेको सुरक्षा शिविरलाई नियन्त्रणमा लिएका तालिबान लडाकू समूहले यस विषयमा केही पनि टिप्पणी गरेका छैनन् । यसैबीच, संयुक्त राष्ट्रसंघले सन् २०१९ को शुरुका तीन महिनाको अवधिमा अफगानिस्तानमा पहिलो पटक तालिबान लडाकू र अन्य आतङ्ककारी समूहको आक्रमणमा भन्दा बढी अमेरिकाआबद्ध र सरकारी सेनाको कारबाहीमा परी सर्वसाधारणको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसंघद्वारा बुधबार जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय र सरकारी सुरक्षाफौजबाट ज्यान गुमाउनेको अफगानीको संख्या ३०५ पुगेको छ । विदेशी र सरकारीफौजबाट सर्वसाधारणको ज्यान जानुको प्रमुख कारण हवाई आक्रमण भएको पनि प्रतिवेदनमा खुलाशा गरिएको छ । यस्तै, सोही अवधिमा तालिबान लडाकू र अन्य आतङ्ककारीहरुको आक्रमणका परी २२७ जना सर्वसाधारणको ज्यान गएको छ ।