खेलकुद

तङ्ग्रिदै भूकम्पले क्षतिग्रस्त बनाएका खेल संरचना

काठमाडौँ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन् . भूकम्प गएको चार वर्ष पुग्दै गर्दा क्षतिग्रस्त बनेको खेलकूदका भौतिक संरचना दशरथ रङ्गशाला, त्रिवि क्रिकेट मैदान तथा सातदोबाटोस्थित पौडी पोखरी र धेरै जिल्लाका प्रमुख खेलस्थलमध्ये केही संरचना पुनःनिर्माण भइसकेको र केही पुनःनिर्माणको अन्तिम चरणमा पुगेका छन् ।

भूकम्पका कारण क्षतिग्रस्त बनेका खेल संरचनामध्ये सातदोबाटोको अन्तर्राष्ट्रिय पौडी पोखरी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुनःनिर्माण भइसकेको छ भने सबैभन्दा बढी क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको पुनःनिर्माण ९० प्रतिशतभन्दा बढी सकिएको छ ।

आठौँ दक्षिण एशियाली खेककूद भएका बेला विसं २०५६ मा चीन सरकारले बनाइदिएको सातदोबाटोको पौडी पोखरी भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो । अहिले उक्त पौडी पोखरी चीन सरकारकै सहयोगमा पुनःनिर्माण भएको छ । चीन सरकारबाट नेपालमा निर्मित खेलकूदका भौतिक संरचना भूकम्पबाट क्षतिग्रस्त बनेपछि पुनःनिर्माणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुरुप सातदोबाटोस्थित पौडी पोखरीले नयाँ स्वरुप पाएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ ।

चीनको आफ्नै प्राविधिकले निर्माण गरिरहेको पौडी पोखरीमा पहिलाको भन्दा नयाँ प्रविधि प्रयोग गरिएको छ । अबका दिनमा उक्त पौडी पोखरीमा एशियाली र ओलम्पिक जस्ता प्रतियोगितासमेत गर्न मिल्ने पौडी प्रशिक्षक शङ्कर कार्कीले बताए । अहिले उक्त पौडी पोखरीमा जाडोयाममा समेत प्रशिक्षण गर्न मिल्ने गरी ‘हिटिङ सिस्टम’ जडान गरिएको छ । पौडी पोखरी २५ मिटर लामो र अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार भएकाले ठूला प्रतियोगिताहरू गर्न कुनै समस्या नरहेको उनको भनाइ छ ।

यसैगरी विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेपछि मुलुककै एकमात्र अन्तर्राष्ट्रिय रङ्गशाला त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा कुनै पनि खेलकूदका गतिविधि हुन सकेका छैनन् । भूकम्प गएको बिहीबार चार वर्ष पूरा हुँदैछ । रङ्गशाला पुनःनिर्माणको काम ९० प्रतिशत पूरा भएको छ । भूकम्प गएको करीब दुई वर्षसम्म रङ्शाला पुनःनिर्माण शुरु नै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माण कामले गति लिएको रङ्गशाला आउँदो जेठसम्म सम्पन्न हुने लक्ष्य राखेपको छ ।

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माणको काम नेपालले भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्ष चीन सरकरको सहयोगमा निर्माण हुनेछ । नेपालले निर्माण गर्नुपर्ने काममध्ये ८० प्रतिशत काम पूरा भएको छ । त्यसपछि चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, ‘साउन्ड सिस्टम’, ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’को काम शुरु भएको छ ।

रङ्गशाला पुनःनिर्माणको मुख्य कामको रूपमा रहेको भिआइपी प्यारापिट र साधारण प्यारापिटको तल्लो चार तहको काम पिएल प्रतिष्ठान किराँतेश्वर जेभीले गरिरहेको छ । विसं २०७३ मा यो कम्पनीले टेन्डर पारेको थियो । राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्यायले भने, “अहिले पनि एक सयदेखि १५० मजदुरले दैनिक काम गरिरहेका छन् । सबै काम सम्पन्न हुन असार मसान्तसम्म त लाग्छ ।”

रङ्गशालाको अहिलेको स्वरुप भने विसं २०५५ मा तयार भएको थियो । नेपालले आठौँ साफ आयोजना गर्ने निर्णय लगत्तै चीनले आधुनिक रङ्गशाला निर्माण गर्न सहयोग गरेको थियो । यस्तै कीर्तिपुरस्थित इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरलाई पनि विसं २०७२ को भूकम्पले चिराचिरा पारिदिएको थियो । अहिले उक्त सेन्टर पुनःनिर्माण भइसकेको छ । भूकम्पपछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थित कभर्ड हलमा पनि प्राविधिकले पहेँलो स्टिकर टाँसिदिएका थिए । तर मर्मतबिनै त्यही कभर्ड हलमा विभिन्न प्रतियोगिताहरू गरिँदै आएको छ । राखेपका अनुसार यो वर्ष कबर्डहल मर्मतका लागि कुनै बजेट विनियोजन भएको छैन ।

सबैखाले संरचना निर्माणसँगै खेलकूदलाई राष्ट्रिय दायित्वका साथमा जिम्मेवारीपूर्ण, समयसापेक्ष र आवश्यक पूर्वाधार तयार गर्दै धेरैभन्दा धेरै सम्भावनाका ढोका खोल्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टका अनुसार भूकम्पले क्षतिग्रस्त बनाएका निर्माणाधीन संरचनालाई अन्तिम रूप दिइने र नियमित प्रतियोगितालाई थप प्रभावकारी बनाएर अघि बढाउने बताउनुभयो । गत आर्थिक वर्षमा राखेपले भौतिकतर्फ ८७।०४ प्रतिशत प्रगति हासिल गरेको छ ।

भूकम्पपछि नेपालले कुनै पनि अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता गर्न सकेको छैन । १३ औँ दक्षिण एशियाली खेलकूद यो वर्ष नेपालमा गर्ने कार्यतालिका रहे पनि भूकम्पबाट क्षतिग्रस्त बनेको संरचना पुनःनिर्माण हुन नसकेपछि अर्को वर्षका लागि सारिएको छ । नेपालमा १३ औँ साग गर्ने घोषणासहित १२ औँ दक्षिण एसियाली खेलकूद भारतको गुवाहाटीमा सन् २०१६ मा सम्पन्न भयो । गुवाहाटीको इन्दिरा गान्धी रङ्गशालामा भएको १२ औँ सागको समापन कार्यक्रममा भारतीय ओलम्पिक सङ्घका अध्यक्ष एन रामाचन्द्रनले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई दक्षिण एशियाली ओलम्पिक काउन्सिलको झन्डा हस्तान्तरण गरेपछि नेपालले आयोजनाको जिम्मेवारी पाएको थियो । भूकम्पका कारण खेल संरचनामा गम्भीर क्षति पुगेपछि नेपालले १३ औँ साग गर्न सकेको छैन ।

विसं २०५६ मा आठौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता आयोजना गरेको नेपालले २०१९ मा पनि १३ औँ दक्षिण एशियाली खेलकूद गर्ने अवसर पाएको छ । क्षतिग्रस्त खेलकूदका संरचना यथाशक्य चाँडो निर्माण गरी उक्त प्रतियोगिता आयोजना गर्नु नेपालका लागि अहिले चुनौतीको विषय बनेको छ । त्यस्तै अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजनाका लागि दाबेदारी प्रस्तुत गरेपनि नेपालले ती प्रतियोगिता आयोजना गर्न पाएको छैन । संरचना क्षतिग्रस्त भएपछि घरेलु प्रतियोगिताहरू समेत एक वर्षसम्म रोकिएका थिए ।

भूकम्पका कारण खेल क्षेत्रले मात्र रु २० करोडभन्दा बढीको क्षति बेहोरेको थियो । नेपाली खेलकूदका अधिकांश भौतिक संरचना तत्कालको आवश्यकता पूरा गर्न हतारमा बनाइएकाले त्यति धेरै क्षति बेहोरेको र अब संरचना निर्माण गर्दा यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए, राष्ट्रिय खेलकूद परिषद्का पूर्वसदस्य सचिव युवराज लामा ।