कर्णाली प्रदेश

ओझेलमा मगर सङ्ग्राहलय

रोल्पा । मगर समुदायले भाषा संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला रोल्पामा स्थापना गरिएको मगर सङ्ग्राहलय भने बन्द हुने अवस्थामा पुगेको छ । सङ्ग्राहलय सञ्चालनका लागि बजेटको अभाव भएसँगै उक्त सङ्ग्राहलय बन्द हुने अवस्थामा पुगेको हो ।

रोल्पा सदरमुकाम लिवाङमा रहेको उक्त सङ्ग्राहलय एक कोठामा सीमित हुनपुगेको छ । प्रचारप्रसारको अभावमा सङ्ग्राहलयबारे धेरैलाई जानकारी छैन । मगर बाहुल्यता रहेको जिल्ला भए पनि यसको विकास र संरक्षणमा कसैको ध्यान नपुग्दा सङ्ग्राहलय यस्तो अवस्थामा पुगेको मगर अगुवाको भनाइ छ ।

सङ्ग्राहलय रहेको घर भाडा तिर्न नसक्दा बन्द गर्ने अवस्थामा पुगेका छौँ, नेपाल मगर सङ्घ रोल्पाका सचिव जोखबहादुर पुनले भने । रोल्पा नगरपालिकाले अघिल्लो वर्ष घर भाडाका लागि केही बजेट सहयोग गरेको थियो पुनले भने । जिल्लाका सबै स्थानीय सरकारको समन्वयमा जिल्लाको मगर भाषा संस्कृतिलाई जीवन्त राख्ने स्थानको रुपमा सङ्ग्राहलयको स्तरवृद्धि गर्ने सोच बनाएका छौँ सचिव पुनले भने ।

जिल्लामा कूल जनसङ्ख्याको ४६ प्रतिशत सङ्ख्या मगर समुदायको भए पनि उनीहरुको भाषा संस्कृति भने लोप हुँदै जान थालेको छ । जिल्लाको सघन मगर बस्ती रहेका पूर्वीउत्तरी भूभाग फगाम, जेल्वाङ, गाम, सिउरी, सेरम, उवा, थवाङ, मिरुल, जङ्कोटलगायतका स्थानमा बस्ने मगरले मात्रै मगर भाषा बोल्ने गर्दछन् । अधिकांश मगर आफ्नो भाषा बोल्ने गर्दैनन् भने मगर संस्कृतिसमेत बिर्सदै जान थालेका छन् । भाषाको संरक्षण र थप विकासका लागि भाषा प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिरहेको नेपाल मगर सङ्घ रोल्पाले जानकारी दिएको छ ।

विद्यालयस्तरदेखि मगर भाषाको विकास गर्ने भन्दै परिवर्तन गाउँपालिकाको दुई विद्यालयलमा मगर भाषामा पठनपाठन हुँदै आएको बताइएको छ । नेपाल मगर सङ्घ रोल्पाले पश्चिम उच्च पहाडी गरीबी निवारण आयोजनाको सहयोगमा विसं २०७१ मा स्थापना गरिएको उक्त सङ्ग्राहलयमा मगर समुदायले प्रयोग गर्ने सामग्री राखिएको छ । मगर समुदायले लगाउने कपडा, प्रयोग गर्ने भाडावर्तन, मनोरञ्जनका सामग्री आदि राखेको नेपाल मगर सङ्घ रोल्पाले जनाएको छ ।