गण्डकी प्रदेश

प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले पाँच लाख आर्थिक सहयोग गरेका छन् । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा भएका स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गरे।

दिवङ्गत मातापिताको स्मृतिमा मोहनबहादुरकी श्रीमती कृष्णकुमारी, भाइ डिलबहादुर, छकबहादुर, गमबहादुर र बहादुर पुर्जाका परिवारको तर्फबाट संयुक्त रु पाँच लाख सहयोग प्राप्त भएको हो । पुर्जा परिवारले कम्प्युटर कोठा बनाउन रकम अपुग भएमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको व्यवस्थापन समितिका उपाध्यक्ष फासबहादुर गर्बुजाले बताए ।

यसैगरी राम्चे आमा समूहलाई गमबहादुर पुर्जाले रु १५ हजार, उनकी छोरी डा चुमन पुर्जाले रु पाँच हजार, बहादुर पुर्जाले रु १५ हजार र स्टाफ नर्स रेखा पुर्जाले रु पाँच हजार सहयोग गरेका छन् । सहयोगदाता पुर्जा परिवारलाई मङ्गलबार राम्चेमा देउराली आधारभूत विद्यालय, राम्चे आमा समूहले सम्मान गरेका थिए ।