प्रदेश 1

व्यापारिक महोत्सवमा अठार करोड आम्दानी

ओखलढुङ्गा । ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवले रु १८ करोड आम्दानी गरेको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा रु १८ करोड रकम उठाएको हो । पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा रु १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

गत चैत ३० गतेबाट शुरु भएको ओखलढुङ्गा महोत्सव मङ्गलबार अबेर सकिएको छ । महोत्सवमा स्थानीय जातजातिको वेषभूषा, तामा र फलामका भाडा, ऊनबाट उत्पादित राडी, लम्पट, कृषिजन्य वस्तु, उन्नत जातका पशुवस्तु लगायत विशेष आकर्षणको रुपमा राखिएको थियो ।

जिल्ला सदरमुकाम बजार क्षेत्रमा पहिलोपटक प्याराग्लाइडिङको उडानसमेत गरिएको थियो । महोत्सवमा दैनिक कलाकारको साङ्गीतिक प्रस्तुति प्रदर्शनसमेत गरिएको थियो ।