गण्डकी प्रदेश

१८ वर्षदेखि दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै

चिप्लेढुङ्गा । पोखरा बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन् । क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थ्ये । विस्तारै औषधिको असरले उनको दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताए ।

एक छोरा, दुई छोरीका बुबा उनले सोही समस्याका कारण ५ कक्षाको मात्रै अध्ययन गरेका छन् । “शुरुका दिनमा छरछिमेकको घरमा खुर्सानी मसला कुट्दै आएको थिएँ । २०५८ मा राजमार्गमा होटल खुल्दै गएपछि आफैँले टिमुर र खुर्सानी बेच्न थालेको हुँ ।” उनले भने। बागलुङ–पोखरा राजमार्गमा लुम्ले कृषि अनुसन्धान केन्द्रको मुलगेट अगाडि रहेको दाजुको होटलबाट उनले व्यापारको शुरुआत गरे।

बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक आठ घण्टा ओखलमा निरन्तर टिमुर खुर्सानी कुटेर धुलो बनाउँदै आएका छन् । पोखरा–बागलुङ राजमार्गमा उनको होटलमा खाजा खाना आउनेदेखि बाटोमा हिँड्दा देख्नेसम्म उनका ग्राहक छन् । नेपाल दृष्टिविहीन सङ्घ कास्कीको कार्यसमिति सदस्यसमेत भएका तुलाचनले सरकारले अपाङ्गता भएकालाई पनि विभिन्न रोजगारमूलक अवसर प्रदान गर्दै आएको भन्दै सबैले आफ्नो सीप र क्षमताअनुसारको काम गरेर आत्मनिर्भर हुन आग्रह गर्छन् ।