प्रदेश 1

मोटरसाइकल दुर्घटनामा मृत्यु

इनरुवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३ पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका थिए । गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते राईलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । ट्रक र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।