बाग्मती

भूकम्पले भत्काएको ट्याङ्की निर्माणकार्यको अनुगमन

भक्तपुर । सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गरेको छ । नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा मङ्गलबार भएको अनुगमनका क्रममा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन गरेको थियो ।

नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, सदस्य अर्जुन खतिवडा, इञ्जिनीयर जनक न्यौपाने, नगरपालिकाका प्राविधिक एवं कर्मचारी र सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरेको हो । नगरपालिकाले वडा नं ४ मा दधिकोटमा नगरस्तरीय रु ९७ लाखको लागतमा निर्माण भइरहेको हर्षचोक/तर्खगाल सडकको ग्याभिङ पर्खालसहितको सिमाङ्कन कार्यको अनुगमन गरेको छ ।

यो सडकमा भएको काममा ठेकेदार कम्पनीको लापरवाही पाइएको र निर्माण सामग्री गुणस्तरको नभएको पाइएको समितिका अध्यक्ष सापकोटाले बताए।
त्यस्तै रु ३० लाखको वडास्तरीय बजेटबाट सोही सडक खण्डको दोस्रो चरणमा भइरहेको ग्याभिङ पर्खालसहितको सिमाङ्कन कार्यको समेत अनुगमन गरेको छ । प्रदेश सरकारको रु ५० लाखको बजेटमा निर्माण भइरहेको गाम्चा–तर्खगाल सडक र अर्को रु ५० लाखको लागतमा दधिकोट–गाम्चा सडकको अनुगमन गरेको र सुपरभाइजरको लापरवाही तथा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ ।

त्यस्तै दधिकोटमै प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद कोषको रु २५ लाख र नगरपालिकाको रु १२ लाख ५० हजारसहित रु ३७ लाख ५० हजारको लागतमा निर्माण भइरहेको राधाकृष्ण कुलो निर्माण एवं सेतोपाटी सडक ग्राबेलको अनुगमन गरेको छ ।
त्यस्तै सोही वडामा नगरस्तरीय बजेटअन्तर्गत रु ९७ लाखको लागतमा निर्माण भइरहेको घुम्ती–किवाचो सडकको ६ मिटर कालोपत्र एवं सडक चौडाइ गर्ने कार्यको अनुगमन गरेको छ ।

सोही ठाउँमा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्काएको किवाचो खानेपानी आयोजनाको ट्याङ्की निर्माणकार्यको अनुगमन गरेको छ । राष्ट्रिय भूकम्प प्राधिकरणको रु १० लाख, नगरपालिकाको रु १० लाख र स्थानीय उपभोक्ताको रु चार लाख गरी कूल रु २४ लाखको लागतमा निर्माण भइरहेको एक लाख लिटर पानी अट्ने क्षमताको ट्याङ्कीको अनुगमन गरेको छ । गुण्डुमै निर्माण भइरहेको फुटसलको समेत अनुगमन गरेको छ ।

नगरपालिकाले वडा नं ४ दधिकोटमा खुला क्षेत्रमा निर्धारण गरेको घर एवं भवनको अनुगमन गरेको छ । वडा कार्यालयले र नक्सापास गर्ने इञ्जिनीयरको मिलेमतोमा निषेधित क्षेत्रमा घर निर्माण भइरहेको समितिका सदस्य अर्जुन खतिवडाले जानकारी दिए । अनुगमनमा नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले विकास निर्माणका क्रममा लापरवाही गर्ने ठेकेदार र नगरपालिकाले खटाएको सुपरभाइजरलाई तत्काल फोटोसहितको प्रतिवेदन बुझाउन निर्देशन दिए । उनले मापदण्ड नपुगेका निर्माण व्यवसायीको भुक्तानी रोक्का गर्ने र निरीक्षणमा खटिएका साइड इञ्चार्जलाई कारवाही गरिने उनले बताए ।