खेलकुद

उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

घोराही । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको महिला फुटबलको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ट्राइब्रेकरमा ६–५ गोलले हराउँदै एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

एपिएफका लागि सावित्रा भण्डारी तथा पुलिस क्लबकी निरु थापाले गोल गरी खेललाई बराबरीमा पुर्‍याए । निर्धारित ९० मिनेटमा एक–एक गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा एपिएफले जीत निकाल्दै फाइनलमा पुगेको हो ।

यस्तै, मंगलबार भएको अर्को सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई ६–० गोलले हरायो । खेलको १०औँ मिनेटमा बिमला चौधरीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाइन् । खेलको ३७औँ र ४०औँ मिनेटमा शर्मिला थापाले गोल गरिन् । दोस्रो हाफमा पनि आर्मीले तीन गोल थप गर्‍यो । कृष्ण खत्रीले ६०औँ र ६७औँ मिनेटमा तथा इन्द्रिरा राईले ८०औँ मिनेटमा अन्तिम गोल गरिन् । अब फाइनलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब भिड्ने छन् । खेल बुधबार बिहान बेलझुण्डी रङ्गशालामा हुनेछ ।