सूचना प्रविधि

ढुक्क हुनुस् इतिहासले किनारा लगाएको राजतन्त्र कुनै हालतमा फर्कंदैन: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको बाटोमा लम्किरहेका बेला धर्मका नाममा आन्दोलनको हौवा फिँजाइएको बताएका छन् ।

जिल्ला समन्वय समितिको जिल्लास्तरीय समीक्षा तथा तेस्रो जिल्लासभा बैठकको मंगलबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “धर्म नामधारी आन्दोलन नौटङ्की मात्रै हो, इतिहासले किनारा लगाइसकेको तत्व सल्बलाए भने कानूनले ठीक पार्छ ।” उनले धर्मको संवेदनशीलतामा टेकेर प्रगतिको बाटो अवरुद्ध पार्ने काम भएको दाबी गरे।

मन्त्री बाँस्कोटाले परिवर्तन नचाहने शक्तिले मुलुकलाई पुनःअस्थिरतातर्फ लैजाने प्रयास गरेको बताउँदै भने, “उनीहरुको अभिष्ट पूरा हुन सक्दैन, ढुक्क हुनुस् इतिहासले किनारा लगाएको राजतन्त्र कुनै पनि हालतमा फर्कंदैन ।” सरकार वार्ता र संवाद गर्न तयार रहेको तर राज्यको नीति नियम मिचेर हिँड्नेलाई कारवाही गरिने उनको भनाइ थियो । मुलुकमा आतङ्क फैलाउनेसँग कुनै पनि वार्ता नहुने उनले बताए ।

झण्डै ८५ प्रतिशत नागरिक हिन्दू भएको देशमा धर्मका नाममा जनमत सङ्ग्रहको रटान दिनु गलत भएको उनले बताए । उनले भने, “धर्म र राजनीति फरक पाटा हुन्, राजतन्त्र फर्काउन धर्मको अस्त्र बेठीक छ, नेपालमा धर्मका नाममा कोही पनि सल्बलाउनु आवश्यक छैन ।” उनले धर्मका नाममा नौटङ्की नगर्न आग्रह गरे ।

मन्त्री बाँस्काटोले आज पाँचखाल नगरपालिका–१३ कोशीदेखास्थित जनजागृति प्राथमिक विद्यालयको एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)को समन्वयमा निर्मित भवन उद्घाटन एवं हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ‘कथित दलित’का नाममा टाठाबाठाले शक्तिको पहुँचमा लुटिरहेको बताए । उनले भने, “दलित भजाएर टाठाबाठाले स्वार्थ लुटिरहेका छन्, मानिस सबै समान हुन्, अब दलित शब्द शब्दकोषबाट हटाउनुपर्छ।” उनले असल र सक्षम नागरिक बनाउन शिक्षाको ठूलो महत्व रहेको बताउँदै छुवाछूत मेटाउन सबै पक्ष लाग्नुपर्ने धारणा व्यक्त गरे।

उनले मंगलबार मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीस्थित वागदेवी माध्यमिक विद्यालयको एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)को समन्वयमा निर्मित भवनको उद्घाटन गर्दै बालबालिकाले सानैदेखि राम्रो शिक्षा प्राप्त गरे ‘सुखी र समृद्ध’ त्यही भेटिने बताए ।