समाचार

तेस्रोलिङ्गीबारे पाठ्यक्रम माग

काठमाडौँ । तेस्रोलिङ्गीबारेमा जानकारी गराउन विद्यालयस्तरको पाठ्यक्रममा नै समावेश गरिनुपर्ने माग गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग र नील हीरा समाजले आज यहाँ आयोजना गरेको यौनिक अल्पसङ्ख्यकको मानव अधिकार समस्या, चुनौती र समाधानका विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले तेस्रोलिङ्गीबारेमा पर्याप्त जानकारी नहुँदा परिवार र समाजबाट अपहेलित हुनुपरेको गुनासो गरेका थिए ।

समाजका कार्यकारी निर्देशक मनिषा ढकालले नेपाली समाजले महिला र पुरुषबीचको सम्बधलाई मात्रै विवाहको मान्यता दिएको भन्दै कानूनी रुपमा यस समाजका मानिसलाई पनि इच्छाइएको व्यक्तिसँग विवाह गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने धारणा राखे । उनले महिला पुरुषमा जस्तै आफूहरुमा पनि यौनिक हिंसा हुने भन्दै त्यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताए । तेस्र्रोलिङ्गी एञ्जला लामाले परिवारले पनि आफूलाई लिङ्गको आधारमा हेला गर्ने गरेको गुनासो गरे ।

सांसद यशोदा सुवेदीले पछिल्लो समय समाजले तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको भन्दै उनीहरुलाई परिवारले साथ सहयोग दिनुपर्ने भने । सांसद् सुवेदीले संविधान परिवर्तित दस्तावेज भएकाले आवश्यकता अनुरुप कानून थपघट गर्न सकिने स्पष्ट गरे । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले सरकारको “समृद्ध नेपाल सुखी नेपाली”को नारा सफल बनाउन सरकारले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने बताए ।