समाचार

८३ जनाले हतियार बुझाए

बैतडी । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र हालसम्म यहाँ ८३ हतियार सङ्कलन भएको छ । सङ्कलित सबै भरुवा बन्दुक वैध रहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको समूलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन गत चैत १ गते ३५ दिने सूचना जारी गरेको थियो । गृह मन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन यही वैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको थियो ।

जिल्लामा एक हजार ४३ भरुवा बन्दुक र ५८ बारबोर हतियार लाइसेन्स प्राप्त रहेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गजेन्द्र चन्दले जानकारी दिए । लाइसेन्स प्राप्त हतियारमा भरुवा बन्दुक स्थानीय तहमा नवीकरण हुने गर्दछ भने बारबोर जिल्ला प्रशासनबाट नवीकरण गरिन्छ । अवैध राखिएका हातहतियार तोकिएको मितिमा नबुझाए कानूनअनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । गत फागुन २८ को मन्त्रिपरिषद्को बैठकले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न रहेका व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

सेनेटरी प्याड प्रयोग

विभिन्न ठाउँका किशोरी आफैँ सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेका छन् । स्थानीय तह र विभिन्न सङ्घसंस्थाले प्याड बनाउने तालीम दिएपछि उनीहरु महिनावारी भएका बेला प्याड प्रयोग गर्न थालेका हुन् । केही दिनअघि आइडीएस नामक गैरसरकारी संस्थाले सुर्नयामा सेनेटरी प्याड बनाउने तालीम दिएको संस्थाका कार्यक्रम संयोजक सुरेन्द्र जैरुले बताए ।

प्याड बनाउने तालीम पाएपछि महिनावारी भएका बेला प्याड प्रयोग गर्नका लागि सजिलो भएको सुर्नया– ४ की राजमती भट्टले बताए । प्याडको प्रयोगले सुरक्षित महिनावारी अवधारणालाई टेवा पु¥याएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले बताए । सेनेटरी प्याड बनाउने तालिमपछि ग्रामिण क्षेत्रका महिलाले सेनेटरी प्याड प्रयोग गर्न थालेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए । महिनावारी भएका बेला प्याडको प्रयोग गर्दा महिलालाई सरसफाइमा रहन सहयोग पुग्ने विश्वास गरिएको छ ।