बाग्मती

ग्याल्जेन पिकका आरोहीलाई सम्मान

काठमाडौँ । जुगल हिमशृङ्खलाको ग्याल्जेन पिक प्रथम आरोहीलाई प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज यहाँ सम्मान गरेको छ ।

विसं २०७५ चैत १५ गते काठमाडौँबाट आरोही माया गुरुङको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको सो टोलीले २०७५ चैत २६ गते बिहान ११ बजे सो पिकको चुचुरोमा पाइला राख्न सफल भएको थियो । सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ मा अवस्थित ६ हजार ५३५ मिटर अग्लो सो पिकमा सन् १९३० मा अमेरिकी आरोही टोलीले गरेको आरोहणको प्रयास असफल भएको थियो । सगरमाथाको सफल आरोहण गरिसकेका आरोही गुरुङसहित उक्त आरोहण टोलीमा टुलसिंह गुरुङ, शर्मिला थापा, मीनबहादुर लामा, समीर गुरुङलगायत रहेका थिए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो टोलीलाई सम्मान गरेका हुँन । उनले प्रदेश ३ लाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले जोड दिएको बताए । “सगरमाथाको चुचुरो आरोहण गर्नभन्दा कठिन जुगल हिमशृङ्खलाको ग्याल्जेन पिक सफलतापूर्वक आरोहण गरेकामा आरोही गुरुङसहितको टोलीलाई बधाई दिन्छु”, उनले भने । प्रदेश ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालका अति रमणीय हिमशृङ्खलालाई थप पर्वतीय पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले जुगल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लागिएको बताए । सो अवसरमा मुख्यमन्त्री पौडैलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा तयार पारिएको प्रतीक चिह्न सार्वजनिक गरेका थिए ।