समाचार

आठौँ राष्ट्रिय खेलकूद : फुटबलप्रति दर्शकको आकर्षण

राँझा । नेपालगञ्ज रङ्गशालामा लामो समयपछि फुटबलप्रति दर्शकको रौनक देखिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल खेल हेर्न नेपालगञ्जवासी मात्र नभई बाँके र बर्दियाका ग्रामीण क्षेत्रबाट समेत दर्शक खेल हेर्न रङ्गशाला पुगेका थिए ।

वार्षिकरुपमा नेपालगञ्ज गोल्डकप प्रतियोगिता हुने भए पनि अहिले जारी राष्ट्रिय प्रतियोगिताले दर्शकको रुचि बढाएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताए । फुटबलको छनोट चरणको प्रतियोगिता अन्य जिल्लामा भए पनि सेमिफाइनलका खेल भने आजदेखि नेपालगञ्जमा भएका छन् । फाइनल खेल बुधबार नेपालगञ्जस्थित रङ्गशालामा हुने भएकाले फुटबल खेलप्रतिको रौनक बढेको अध्यक्ष शाही बताए ।

नेपालगञ्ज रङ्गशालामा फुटबल हेर्न गाउँगाउँबाट आएका दर्शकले आठौँ राष्ट्रिय प्रतियोगिताको रौनक बढाएको प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले बताए । उनका अनुसार फुटबल पुरुषतर्फको सेमिफाइनल र फाइनल खेल नेपालगञ्जस्थित रङ्गशाला र महिलाको खेल दाङको बेलझुण्डीमा भइरहेका छन् । फुटबल पुरुषतर्फको छनोट चरण रुपन्देही र बाँकेको खजुरा तथा महिला फुटबल दाङको बेलझुण्डी र कपिलवस्तु– ४ मा भएको थियो ।

नेपालगञ्ज रङ्गशालामा उल्लेख्य दर्शकको उपस्थितिमा आज भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको पहिलो सेमिफाइनलमा जित हासिल गर्दै त्रिभुवन आर्मी क्लब पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा घरेलु टिम प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । नेपालगञ्ज रङ्गशालामा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेल खेलेका थिए । पेनाल्टी सुटआउटमा खेलको निर्णय गएको थियो । उक्त खेलमा आर्मी विजयी भयो ।

पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । जीतेन्द्र कार्की र दीपक गुरुङले गोल गर्न सकेनन् । प्रदेश ५ का कृष्ण रानाभाटले मात्र गोल गरे । दिपेनसिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले गोल गर्न सकेनन् । खेलको २०औँ मिनेटमा प्रदेश ५ का दिपेनसिंह ठकुरीले आत्मघाती गोल गरे । खेलको ३१औँ मिनेटमा दिपकुमार लामाले गोल गर्दै आर्मीलाई २–० को अवस्थामा पु¥याए । मध्यान्तर पछिको खेलमा विनोद केसीले पेनाल्टीमा तथा खेलको ८०औँ मिनेटमा विनोदले नै पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरी खेल २–२ को बराबरीमा पुर्याए ।