गण्डकी प्रदेश

घिमिरेको कोही भएनन् आफन्त

लमजुङ । पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका– ६ लामपाटाका ७३ वर्षीय पूर्व शिक्षक टेकनाथ घिमिरे अहिले जीवनको उत्तरार्धमा आएर एक्लिएका छन। विगतमा दूरदराजमा बिद्यालय स्थापना गरी स्थानीय बालबालिकालाई विद्यालय पुर्याउनु हुने उनले लामपाटा क्षेत्रमा छ विद्यालय स्थपाना गर्न योगदान पुर्याएका थिए ।

शिक्षक घिमिरेले जिल्ला र जिल्ला बाहिर गरी १५ वटा विद्यालयमा पढाए । कक्षा १० सम्म पढ्नुभएका उनले संस्कृत पढाउने राम्रो शिक्षक भएकाले सबैतिरबाट तानातान हुँदा जिल्ला बाहिरसमेत पुगेर १५ विद्यालयमा पढाएका थिए । करीब ४० वर्षभन्दा बढी शिक्षण पेशामा सम्लग्न शिक्षक घिमिरेको जीवन दुखद होला भन्ने कसैले सोच्न सकेको थिएन । उनीसँग सम्पत्तीको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्रबाहेक अरु केही छैन । सरकारले एसएलसी उत्र्तीण दरबन्दीका शिक्षक पठाउन थालेपछि शिक्षक घिमिरे विद्यालयबाट बाहिरीए ।

जिल्लाको उत्तरी भेगको शिक्षाको संस्थापक भनेर परिचित घिमिरेको योगदानलाई यतिबेला न राज्यले स्मरण गर्यो नत समाजले नै । घिमिरेले पढाउनु भएका लताकुञ्ज निम्न माध्यमिक विद्यालय खुदीका प्रधानाध्यापक उमरबहादुर गुरुङले भने, “शिक्षाको ज्योति फैलाए पनि राज्यले घिमिरेलाई चिन्न सकेन् ।” पाँच वर्ष पढाउनुभएका उनलाई आफूहरुले ‘वेस्टकोट’ र ढाकाटोपी लगाईदिएर बिदाइ गरेको प्रध्यानापक गुरुङले जानकारी दिए । विद्यालयबाट अवकाश लिएपछि केही समय पूजापाठ गरेर गाउँगाउँ डुल्दैँ यसबाट पनि गुजरा चल्न नसक्दा गाउँलेको गोठमा बसेर काम गर्न थालेँ तर उमेर ढल्कँदै गएपछि काम गर्न नसक्दा खाने समस्याले पिरोलेको शिक्षक घिमिरेले बताए ।

बेसहारा बनेपछि राईनास नगरपालिका–८ स्थित तार्कुघाट हर्राबोटमा रहेको सर्वोदय सेवा आश्रममा उनले विगत छ वर्षदेखि बस्न थालेको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए । शिक्षक घिमिरेले भने धन भए सबै मेरी, नभए सबै टेडी भने झै मेरो जीवनमा पनि यस्तै भयो । राज्यले मेरो योगदान चिन्न नसक्दा निकै दुःख लागेको छ ।” आश्रमका अध्यक्ष ओलियाले भने , उनका आफन्त भए पनि कोही भेट्नसमेत आउँदैनन् । अहिले घिमिरे दमको रोगी हुनाका साथै कानसमेत राम्रोसँग सुन्न सक्दैनन् ।”