लुम्बिनी

असहाय वृद्ध दम्पतीलाई घर उपहार

नारायणपुर । दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा बस्दै आएको असहाय वृद्ध दम्पतीका लागि घर निर्माण गरिदिइएकोे छ । सन्तान र आफन्त कोही नभएका असहाय वृद्ध दम्पतीलाई विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिइएको हो ।

घोराही बजारदेखि करीब १५ किलोमिटर उत्तर पश्चिममा पर्ने विकट क्षेत्र सिस्नेरीस्थित जीर्ण घरमा वस्दै आएको ६० वर्षीय तीर्थराम महरा र ५८ वर्षीया रमा महराको सुरक्षित आवास निर्माणका लागि ए–वान टेलिभिजन र गीतकार लोकराज अधिकारीले पहल गर्नुभएको थियो । टेलिभिजनले रिपोर्ट तयार पारेपछि देश विदेशबाट सहयोग सङ्कलन भएको थियो ।

देश विदेशबाट प्राप्त करीब रु साढे तीन लाखको सहयोग रकमबाट घर निर्माण गरिएको अधिकारीले बताउनुभयो । एउटा शौचालयसहित दुई कोठाको सानो भवन निर्माण गरेर हस्तान्तरण गरिएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक अमृतमान वली, सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारीले घर निर्माण गरेर हस्तान्तरण गरेका हुँन ।

घर निर्माणका लागि रु तीन लाख दुई हजार १०७ नगद सङ्कलन भएको थियो भने दाङ देउखुरी इँटा व्यवसायी सङ्घका अध्यक्ष रोम वलीले तीन हजार ५०० इँटा सहयोग गरेका थिए । घर हस्तान्तरण कार्यक्रममा राष्ट्रियसभाका सदस्य कोमल वलीले ज्येष्ठ नागरिकको सम्मानका लागि सञ्चार क्षेत्रबाट भएको यो कार्य उदाहरणीय रहेको बताए ।