लुम्बिनी

शिविर पुगेपछि स्थानीयवासीमा खुशी

तम्घास । गुल्मीको सत्यवती गाउँपालिका–४ अन्तर्गत लिम्घामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिम्घा स्वास्थ्यचौकीको आयोजना, लिम्घेली युवा क्लबको सह–आयोजना र सत्यवती गाउँपालिका तथा युवा समाजसेवी हुमबहादुर पल्लीको सहयोगमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ५८ जना पुरुष र १८६ जना महिला गरी २४४ जनाले सेवा लिएका छन् । शिविरमा भिडियो एक्सरे ५९ जनाले, इसिजी २० जनाले र ल्याब सेवा ३३ जनाले लिएको स्वास्थ्यचौकी प्रमुख विशाल कुँवरले बताए । शिविरमा डा कपिल गौतम, सोफिया थापा, विशाल पन्थी, सुनिता ज्ञवालीलगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षणका लागि शिविरमा सहभागी ९५ वर्षीय मित्रलाल ज्ञवालीले सामान्य स्वास्थ्य परीक्षणका लागि बुटवल तथा खैरेनी पुग्ने स्थानीयवासीलाई निःशुल्क उपचारले धेरै राहत भएको अनुभव सुनाए । स्थानीयवासी सरस्वती ज्ञवाली पनि गाउँमै आएको सेवाबाट शिविरमा सबैभन्दा बढी विपन्न र अपाङ्गलाई फाइदा पुगेको बताए । शिविरमा औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले लिम्घा स्वास्थ्यचौकीमा ल्याबसेवा शुभारम्भ गर्दै मानिसले विकट गाउँमा स्तरीय ल्याबसेवा पाउँदा लिम्घेलीवासी लाभान्वित भएको बताए । लिम्घा स्वास्थ्यचौकीमा ल्याब सेवा सञ्चालन गर्न स्थानीय समाजसेवी हुमबहादुर पल्लीले डेढ लाख रुपैयाँको सामग्री प्रदान गरेका छन । उनले गतवर्ष स्वास्थ्यचौकी भवन निर्माणको लागि तीन रोपनी जग्गा र एक लाख २० हजार नगद प्रदान गरेका छन् ।