स्वास्थ्य

एक वर्षदेखि ट्रमा सेन्टर अलपत्र

काठमाडौँ । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्ष गरी निर्माण गरिएको उक्त सेन्टर २५ श्ययाको छ ।

शिक्षालयका समादेशक सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक किशोर प्रधानका अनुसार अपाङ्गमैत्री सुविधा सम्पन्न सेन्टरमा सख्त, मध्यम र सामान्य घाइतेलाई राखेर उपचार गर्ने छट्टै कक्ष, घाइतेको सामान्य शल्यक्रिया गर्ने कक्ष, ‘ड्रेसिङ्ग’ कक्ष, औषधि पसल र शौचालय छन् । सेन्टरमा उपचारमा आवश्यक पर्ने उपकरण र नियमित सञ्चालन गर्ने खर्च प्राप्त भएमा सशस्त्रका चिकित्सक टोलीले सञ्चालन गर्नसक्ने बताउँदै उनले भवन र जनशक्ति भएर पनि यो सेन्टर सञ्चालन गर्न सकिएको छैन । वरिष्ठ उपरीक्षक प्रधानले सेन्टर सञ्चालनमा ल्याउन सके दुर्घटनाका घाइतेका साथै स्थानीयवासी पनि लाभान्वित हुने बताए ।

विगत वर्षका तथ्याङ्कअनुसार सो क्षेत्रको सडकखण्डमा हरेक महीना दुई वटा ठूला दुर्घटनाका साथै दिनहँुजसो साना दुर्घटना हुने गरेको छ । उक्त शिक्षालयले विपत्मा उद्धार गर्नाका साथै उद्धारका लागि तालीम दिँदै आएको छ । दुर्घटनामा उद्धार भएकालाई तत्काल प्राथमिक उपचार गर्न ट्रमा सेन्टर उपयोगी मानिन्छ । सो ठाउँबाट सबैभन्दा नजिकको दूरी ४० किलोमिटर भरतपुर हो भने काठमाडौँ र पोखरा एक÷एक सय किलोमिटर हाराहारीमा पर्दछ । सेन्टर सञ्चालनका लागि शशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि सुनुवाई हुन सकेको छैन ।