गण्डकी प्रदेश

करोडौँका योजनाहरु निर्माणाधीन अवस्थामै अलपत्र

पर्वत । बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।

निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना त्यसै छोडिएका छन् । जिल्लामा अलपत्र अवस्थामा रहेका योजनामध्ये साविकको धवलागिरि अञ्चलको एक मात्र महिला बन्दीगृह, सदरमुकाम कुश्माबजारमा बसपार्क निर्माण, घुम्ती–खनियाघाट, भुरुङ्दीखोला पुल, ठुलीपोखरी खानेपानी र वायु ऊर्जा केन्द्रलगायतका योजना छन् ।

साविकको धवलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दीगृह नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दीगृह निर्माणको काम शुरु गरिएको थियो । तर रु १४ लाख मात्र बजेट आएपछि निर्माणाधीन अवस्थामै बन्दीगृह अलपत्र परेको छ । रु १४ लाखले गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ ।

तर आवश्यक परेको बजेट नआउँदा नौ वर्ष अगाडि इँटाबाट निर्माण गरिएका भित्तासमेत पल्टने अवस्थामा पुगेका छन् । उक्त गृहमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गर्न शुरु गरिएको थियो । त्यसैगरी सदरमुकाम कुशमाबजारमा निर्माणाधीन बसपार्कसमेत लामो समयदेखि अलपत्र अवस्थामा छ । धवलागिरिका चार जिल्लामा आउजाउ गर्ने सयौँका सङ्ख्याका सवारीसाधन पर्वत आउँदा सडककै छेउमा पार्किङ हुने गरेका छन् ।

तत्कालीन अवस्थामा रु एक करोड ५९ लाख बजेट विनियोजन गरेर निर्माणको काम प्रारम्भ गरिएको भए पनि यो काम अलपत्र अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे पनि बजेट अभाव भएकै कारण पर्वत जिल्लाले व्यवस्थित बसपार्क पाउन सकेको छैन ।त्यसैगरी विसं २०६३ मा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा हावाबाट बिजुली निकाल्ने भनी रु एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण भयो । निर्माण पूरा भएर एक वर्षसम्म विद्युत् उत्पादन गरिरहेको आयोजना अहिले अलपत्र अवस्थामा छ । केन्द्रबाट विद्युत् उत्पादन गर्न बन्द भएसँगै केन्द्रमा जोडिएका लाखौँ मूल्यका सामग्री अलपत्र छन् ।

कतिपय मेसिनरी सामग्रीको अब अवशेष मात्र बाँकी रहेका छन् । निर्माणका बेलामा रु एक करोडको लगानी गरिएको भए पनि त्यसपछि आवश्यक मर्मत र सुधारका लागि कतैबाट पनि बजेट नगएपछि मर्मतकै अभावमा एक वर्षमै केन्द्र अलपत्र बनेको हो । यता जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विसं २०५२ मा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा हुँदासाथ नै अलपत्र परेको छ । तेइस वर्ष अगाडि जिल्लाको गौरवको योजना मानिएको खानेपानी आयोजनाबाट स्थानीयवासी झन्डै ४०० बढी घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो ।

पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब सधैँका लागि खानेपानीको समस्या टर्ने भयो । तर, उनीहरूको त्यो सपना भने एक वर्षमै भताभुङ्ग भयो । करीब एक वर्षसम्म धारामा पानी आयो तर त्यसपछि विस्तारै धारामा पानी आउन छोड्यो । अहिले आयोजनाको रिजर्भेसन ट्याङ्की मात्र देख्न पाइन्छ, पानी खस्ने धाराको त अवशेष पनि बाँकी छैन । वडाध्यक्ष राजेन्द्र पौडेलका अनुसार टुनीखोलामा रहेको पानीको मुहान र पानी जम्मा गरेर गाउँमा वितरण गर्नका लागि निर्माण गरिएको रिजर्भेसन ट्याङ्कीबीचको उचाइको तह नमिलाइकन निर्माण गरेका कारण नै निर्माण पूरा गर्ने बित्तिकै आयोजना बन्द भएको हो ।

जिल्लाको कुश्मा नगरपालिका–२ घुम्तीदेखि जलजला गाउँपालिका–८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भाग ट्र्याक खुलाएपछि अलपत्र परेको छ । घुम्ती लाम्पाटा हिमालय मावि खुर्कोट पाङ नुवार खनियाघाट नाम दिइएको सडकलाई कुश्माबाट म्याग्दी पुग्ने सडकको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको थियो । विसं २०७३ मा जयबाबा गोरख ओखलढुङ्गा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ को असारसम्ममा कालोपत्रसहित सडकको काम सक्ने गरी रु छ करोड ९६ लाख ९० हजार ६३१ मा निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

यसैगरी पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने भुरुङ्दीखोला माथिको निर्माणाधीन पुल झण्डै चार वर्षअघि निर्माण शुरु भए पनि अलपत्र रहेको छ । निर्माण शुरु भएको केही महीनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र परेको थियो । पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेवासीले पक्की पुलको माग गर्दै आएका थिए । रु छ करोड १३ लाखको लागतमा बन्न लागेको पुल चालू आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेको छ ।