लुम्बिनी

एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ । कामपाको गत चैत २४ गते बसेको चौथो नगरसभाले उक्त ऐन पारित गरेको थियो ।

अबको एक हप्ताभित्र कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उक्त समिति गठन गरिने प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। समिति ११ सदस्यीय रहने छ । समितिमा कामपाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, महानगरको भौगोलिक क्षेत्रभित्र रहेका सङ्घीय सुरक्षा निकायका प्रमुख वा प्रतिनिधि तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख वा प्रतिनिधि सदस्य रहनेछन्।

उनीहरुका साथै, नगर प्रहरी प्रमुख, गैरसरकारी संस्था महासङ्घको प्रतिनिधि एक, नेपाल पत्रकार महासङ्घको स्थानीय प्रतिनिधि एक र नेपाल रेडक्रसका स्थानीय प्रतिनिधि एक सदस्य रहनेछन् । निजी क्षेत्रको मान्यता प्राप्त उद्योग वाणिज्य सङ्घको महानगरका प्रमुखले तोकेको प्रतिनिधि एक सदस्य रहने समितिमा महानगरले विपत् व्यवस्थापन हेर्न तोकेको अधिकारी सदस्यसचिव रहनेछन् ।

प्रवक्ता डङ्गोलका अनुसार समिति गठन गरे पनि विपत्को समयमा हुने आर्थिक र अन्य व्यवस्थापनका लागि छुट्टै कोषको पनि स्थापना गरिनेछ । ऐनमा सर्वसाधारणको जीउज्यान, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक, सांस्कृतिक, सम्पदा तथा संरचनाको संरक्षण हुने गरी विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ जारी गरेको छ । महानगर क्षेत्रभित्रका सम्भावित प्राकृतिक तथा गैरप्राकृतिक विपत्का समयमा हुने क्षति कम गर्न र सांस्कृतिक सम्पदाको संरक्षणका लागि समन्वयात्मक र प्रभावकारीरूपमा व्यवस्थापन गर्न उक्त ऐन जारी गरिएको हो ।

सात परिच्छेद र २७ दफा रहेको ऐनमा विपत् सङ्कट क्षेत्र घोषणाको पालना, समन्वय, मानवीय तथा अन्य सहायता समन्वय, राहतको न्यूनतम मापदण्ड, वारुणयन्त्र र अन्य सेवा प्रदायकको काम, सुरक्षा निकायको परिचालनसम्बन्धी व्यवस्था गरिएको छ । राष्ट्रिय कार्यकारी समिति, प्रदेश विपत् व्यवस्थापन कार्यकारी समिति, जिल्ला विपत् व्यवस्थापन समितिजस्ता संयन्त्रसँग समन्वय गरी विपत्को जोखिम न्यूनीकरण, पुनःलाभ र प्रतिकार्य व्यवस्थापन गर्नेबारे ऐनमा उल्लेख गरिएको छ ।

कामपा प्रमुख शाक्यको अध्यक्षतामा आइतबार बसेकोे चाँथो नगरसभा बैठकले उक्त ऐन जारी गरेको हो । विपत् व्यवस्थापन राष्ट्रिय परिषद्बाट स्वीकृत नीति, योजना तथा मार्गदर्शन, राष्ट्रिय कार्यकारी समिति र प्रदेश विपत् व्यवस्थापन समितिबाट स्वीकृत एकीकृत तथा क्षेत्रगत योजना र कार्यक्रम अनुरुप महानगर विपत् व्यवस्थापन नीति तथा योजना तर्जुमा गर्ने काम समितिको हुनेछ । त्यस्तै आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन, समुदायस्तरीय सचेतना प्रवद्र्धन, प्रतिकार्यको नमूना अभ्यास गराउने, सूचना प्रणाली तथा पूर्व चेतावनी प्रणालीको विकास र सञ्चालन, प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार तथा राहतको व्यवस्था मिलाउने काम समितिले गर्नेछ ।

प्रभावित घरपरिवारको पहिचान, स्तर निर्धारण तथा परिचयपत्र वितरण, महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिकजस्ता जोखिम समूहको पहिचान र सम्भावित हिंसा, बेचबिखनप्रतिको निगरानी गर्ने काम पनि समितिकै हुनेछ । समुदायस्तरीय कार्यक्रम सञ्चालनलाई प्रभावकारी बनाउन सम्बन्धित वडाध्यक्षले तोकेको निर्वाचित सदस्य संयोजक रहने गरी वडास्तरीय विपत् व्यवस्थापन समिति गठन गर्नसक्ने व्यवस्था ऐनमा छ । कामपामा हाल ३२ वडा रहेको छ । प्रत्येक वडाले यसअघिनै ११ सदस्य रहने गरी विपत् व्यवस्थापन समिति भने गठन गरिसकेका छन् ।

ऐनबमोजिम महानगरमा विपत् व्यवस्थापनका लागि छुट्टै कोष हुनेछ । त्यस कोषमा महानगरले विनियोजन गरेको वार्षिक बजेट, सङ्घीय सरकार, प्रदेश सरकार वा स्वदेशी तथा विदेशी सङ्घसंस्था र व्यक्तिबाट विपत् व्यवस्थापनका लागि उपलब्ध गराएको रकम र महानगरले यसै प्रयोजनका लागि सङ्कलन गरेको विशेष शुल्क वा दस्तुर जम्मा गरिने छ ।