लुम्बिनी

आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो । कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जानकारी दिए।

आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उनले बताए । घटनास्थलमा पुग्नुभएका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, राति करीब ९ बजेतिर शुरु भएको आगलागीबाट रु एक करोड बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ । पसल बन्द गरेर घरमा गएको बेला आगलागी भएको थियो । छिमेकीले खबर गरेपछि तुरुन्तै आएको दमकलले सटर फोडेर आगोलाई नियन्त्रणमा लिएको थियो ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा लिइएका कारण पछाडिपट्टि रहेको गोदाम सुरक्षित भए पनि पसल ध्वस्त भएकोे स्थानीयवासी छिमेकी दत्तप्रसाद आचार्यले बताए। आगो नियन्त्रणमा आइसकेपछि मात्र पसलका सञ्चालक दाहाल पुगेका थिए । नेपालगञ्जमा बितेको छ महीनायता मात्रै तीन पसलमा आगलागीका घटना भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्यले जानकारी दिए ।