खेलकुद

प्याराग्लाइडिङः आर्मी च्याम्पियन

पोखरा । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पोखरामा सोमबार सम्पन्न प्याराग्लाइडिङ प्रतियोगितामा आर्मी क्लब च्याम्पियन बनेको छ । प्रतियोगितामा आर्मी चार स्वर्ण र चार रजत पदक प्राप्त गरी च्याम्पियन बनेको हो । गण्डकी प्रदेश दुई स्वर्ण, एक रजत र चार कास्य पदक हात पार्दै दोस्रो स्थान, प्रदेश नं १ ले एक रजत र एक कास्य पदकका साथ तेस्रो तथा प्रदेश ३ एकले एक कास्य पदक जितेको छ ।

प्रतियोगितामा आर्मीले एक्युरेसीतर्फ पुरुष र महिला व्यक्तिगत, टिम एक्युरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरी चार स्वर्ण पदक हात पारेको हो । त्यसैगरी गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्रीतर्फ दुई स्वर्ण पदक हात पार्न सफल भयो । एक्युरेसी इन्डिभिजुअल पुरुषतर्फ ओभरअलमा १९ अङ्क बटुल्दै आर्मीका सागर नेपालीले स्वर्ण पदक जिते । आर्मीकै ऋषि जलारी पौडेले २३ अङ्कका साथ रजत पदक तथा गण्डकीका अनिष भट्टराईले ३३ अङ्क प्राप्त गरी कास्य पदक जिते ।

सोही प्रतियोगिताको महिलातर्फ पनि आर्मीकी दुर्गामाया गुरुङले ४७९ अङ्क प्राप्त गर्दै स्वर्ण पदक हात पारिन् । यसैगरी गण्डकीकी प्रतिभा भुजेलले ५४० अङ्कका साथ रजत र गण्डकीकै सबिता तामाङ ५७३ अङ्क बटुल्दै कास्य पदक हात पारिन् । एक्युरेसी टिम इभेन्टमा आर्मी १७५ अङ्क प्राप्त गर्दै स्वर्ण, प्रदेश नं १ ले एक हजार १९ अङ्कका साथ रजत तथा गण्डकी प्रदेश एक हजार ३४५ अङ्क प्राप्त गरी कास्य पदक प्राप्त गर्न सफल भयो ।

यसैगरी क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा आर्मीका सुरज थापाले ओभरअलमा दुई हजार ५९५ अङ्क बटुल्दै स्वर्ण पदक हात पारे । आर्मीकै विशाल थापाले दुई हजार ५५० प्राप्त गरी रजत पदक तथा गण्डकीका आशिष थापाले दुई हजार ५४५ अङ्कका साथ रजत पदक जित । क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले एक हजार १३५ अङ्कका प्राप्त गर्दै स्वर्ण, आर्मीकी स्वस्तिका गुरुङले ६५७ अङ्क बटुल्दै रजत तथा प्रदेश १ की सुष्मिता सुनुवारले ३४५ अङ्कसहित कास्य पदक जितिन् ।

क्रसकन्ट्री पुरुष टोली इभेन्टमा गण्डकी प्रदेशले कूल नौ हजार ५७६ अंक प्राप्त गरी स्वर्ण पदक, सोही इभेन्टमा आर्मीले नौ हजार ११४ अङ्क बटुल्दै रजत तथा प्रदेश नं ३ ले आठ हजार ४४७ अङ्क प्राप्त गरी कास्य पदक जित्यो । यही वैशाख ६ गतेदेखि पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्य पदकका लागि १० महिलासहित ५९ खेलाडी भिडेका थिए । प्रतियोगितामा पाँच प्रदेशसहित आर्मीको सहभागिता थियो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ लगायतले पदक, प्रमाणपत्र तथा आठौँ राष्ट्रिय खेलकूदको लोगो वितरण गरेका थिए ।