बाग्मती

राजपाले विचार मिल्ने राजनीतिक शक्तिसँग एकीकरणको बहस चलाउने

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टी एकताको महाधिवेशनको मिति घोषण, सङ्घीय समाजवादी फोरमसँगको पार्टी एकीकरण लगायत समसामयिक राजनीतिक विषयमा छलफल गरेको छ । पार्टीको जारी पदाधिकारी समितिको बैठकमा एकताको महाधिवेशनको मिति घोषणा गरी विचार मिल्ने अन्य राजनीतिक शक्तिसँग एकीकरणबारे बहस चलाएको हो ।

बबरमहलस्थित पार्टी कार्यालयमा आइतबारदेखि शुरु भएको बैठकको सोमबार दोस्रो दिन राजपा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले महाधिवेशन सम्बन्धी प्रक्रिया एवम् तिथि, मितिको निर्धारणसहितका पाँचबुँदे एजेण्डा बैठकमा प्रस्तुत गरेका छन्। महाधिवेशन सम्बन्धमा राजपाले दुई–दुई विकल्प प्रस्तुत गरेको छ । जसमा नियमित महाधिवशेन गाउँ, वडादेखि जिल्लामा चार महीनाभित्र गर्ने वा पार्टी एकताको महाधिवेशन एकदेखि डेढ महीनाभित्र गर्ने भन्नेबारे प्रस्ताव प्रस्तुत गरिएको छ ।

त्यस्तै संयोजक भण्डारीको प्रस्तावमा समसामयिक राजनीतिक र पार्टीको भावी कार्यदिशा, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा तथा आगामी काम कारवाही कसरी प्रभावकारी बनाउने सम्बन्धी प्रस्ताव छ । बैठकमा पार्टीको एकीकरण, मोर्चा र गठबन्धनसँग एकताको पहल लगायत विविध प्रस्ताव प्रस्तुत भएको राजपाले जनाएको छ । सोमबारको बैठकमा राजपा अध्यक्ष मण्डलका ६ जना सदस्यको बोल्ने क्रम सकिएको छ । आजको बैठकमा पार्टीका अन्य पदाधिकारीले आफ्नो धारणा राख्नेछन् ।

अध्यक्षमण्डलभित्र पार्टीको एकताको महाधिवेशनबारे मत बुझिएको छ । राजपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार संयोजक भण्डारी, नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो एकताको महाधिवेशनको पक्षमा छन् भने राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । यता महेन्द्रराय यादव र अनिल झा महाधिवेशनको पक्षमा देखिन्छन्।

बैठकको एजेण्डा एकता महधिवेशनको मिति तोक्ने, सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण कसरी गर्ने लगायत तय भएको छ । आजसम्म चल्ने बैठकबाट महाधिवेशनको मिति तय गर्नाका साथै पार्टी एकीकरणका बारेमा स्पष्ट धारणा आउने बताइएको छ । यही वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको महाधिवेशन मिति तय गरेको थियो । तर तयारी नपुगेको भन्दै महाधिवेशन स्थगन गरेको थियो । विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि बसेको अध्यक्षमण्डलको बैठकमा संयोजक शरत्सिंह भण्डारीले विशेष अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए तर महेन्द्रराय यादवले त्यसको विरोध गरेपछि प्रस्ताव सर्वसम्मतिले पास हुन सकेका थिएन । त्यो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ । बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नाका साथै स्थानीय र प्रदेश सरकारको कामकारवाहीका बारेमा समीक्षासमेत हुने अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले बताए ।