समाचार

अधिकृत नवराज भट्टराई र नायब सुब्बा सविन सुवेदीबिरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरका कर अधिकृत नवराज भट्टराई र नायब सुब्बा सविन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नायब सुब्बा सुवेदीमाथि स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपश्चात् नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका क्रममा सेवाग्राहीसँग रु १५ हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगको टोलीले नायब सुब्बा सुवेदीलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्दा कर अधिकृत नवराज भट्टराईले घुस लिन प्रोत्साहित गरेकोसमेत पाइएको आयोगको भनाइ छ । आयोगले जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिए ।

यस्तै नेपाल जनता प्राथमिक विद्यालय नवलपरासीका प्रधानाध्यापक अर्जुनप्रसाद यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।