राजनीति

सभापति देउवाको ठोकुवाः ओली सरकारले निर्बाचनअघि गरेका बाचा एकथोपा पनि पुरा गर्न सकेन

दमक । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस जिम्मेवारसँगै सशक्त प्रतिपक्षको भूमिकाबाटै जनताको पक्षमा दृढताका साथ उभिने बताएका छन् ।

आज झापाको दमकमा काङ्ग्रेस क्षेत्रीय समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा ६ पुराना कार्यकर्तालाई सम्मान गर्दै उनले वर्तमान सरकारबाट जनता आशावादी होइन्, आजित हुँदै गएको आरोप लगाए । “चुनावमा अनेकौँ लालच देखाए तर सरकारमा आएपछि एउटा पनि जनताले देख्ने गतिलो काम गर्न सकेका छैनन्”, उनले भने । उनले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको सङ्केत भएको जिकिर गरे ।

पार्टी विधानअनुसार बाँकी रहेका समिति सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउन खाँचो रहेको औँल्याए । काङ्ग्रेसको भविष्य सबै नेता, कार्यकर्तामा रहेकाले अब काङ्ग्रेसलाई बलियो र जनताको काङ्ग्रेस बनाउन जुट्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको कार्यशैलीको आलोचना गरे । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रियसभा सदस्य सरिता प्रसाईं, काङ्ग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, धनराज गुरुङ, जिल्ला सभापति उद्धव थापा, महेन्द्रकुमारी लिम्बूलगायतले आ–आफ्नो धारणा राखेका थिए । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला, गाउँ तथा नगरका कार्यकर्ताको उपस्थिति रहेको थियो । दमक–५ स्थित पार्टी कार्यालय भवन करीब रु ३५ लाखको लागतमा निर्माण गरिएको हो ।