गण्डकी प्रदेश

जानकी आधारभूत विद्यालय माविमा परिणत

पोखरा । पोखरा महानगरपालिका वडा नं.१७ महतगौडास्थित जानकी आधारभूत विद्यालय माविमा परिणत भएको छ । विसं २०३५ मा स्थापित सो विद्यालयमा पहिलोपटक यसै शैक्षिक सत्रबाट कक्षा ९ को पठनपाठन शुरु गरेको हो । विद्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष तीर्थ अधिकारीले मावि तहको कक्षा शुभारम्भ गरेका हुँन । मावि तह सञ्चालनमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले विश्वास व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक गोपाल पौडेलले कक्षा ८ उत्तीर्ण गरी ९ कक्षाका लागि अन्य विद्यालय खोज्नुपर्ने बाध्यताबाट सो क्षेत्रका विद्यार्थी मुक्त भएको धारणा राखे ।

विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम भण्डारीले विद्यार्थी तथा अभिभावको मन जित्ने गरी गुणस्तरीय शिक्षामा जोड दिइने प्रतिवद्धता व्यक्त गरे । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी मावि तह सञ्चालन गरिए पनि आर्थिक स्रोतका साथै दरबन्दीको अभावमा यसको निरन्तरता सहज नभएको बताउँदै उनले यसका लागि सम्बन्धित निकायको साथ र सहयोग आवश्यक भएको धारणा व्यक्त गरे ।

कूल २०० विद्यार्थी रहेको सो विद्यालयमा कक्षा ९ मा २५ विद्यार्थी भर्ना भई आजैबाट पठनपाठन शुरु भएको जनाइएको छ । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका योगी, सल्लाहकार गङ्गा पोख्रेल र ओम पौडेल, शिक्षा अभिभावक सङ्घका अध्यक्ष प्रेम थापा र शिक्षक तुल्सी गिरी लगायतले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक एवं विद्यार्थीको सामूहिक प्रयासको आवश्यकता औँल्याए ।

विद्यालयमा हाल कार्यालय, कम्प्युटर, पुस्तकालय र सभाहलसहित १४ कोठा तथा खानेपानी एवं आवश्यक शौचालय रहेका छन् ।