समाचार

राजकुलो, खहरे र मन्दिरको सात रोपनी जग्गा अतिक्रमण

काठमाडौँ । व्यवस्थित आवासीय क्षेत्र निर्माणका नाममा सार्वजनिक जग्गा, सडक, राजकुलो, खहरे र मन्दिरसमेत अतिक्रमण गरेको भन्दै त्यसलाई रोक्न स्थानीयवासीले माग गरेका छन् । गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित पाखाथोक क्षेत्रको १२० रोपनी जग्गा खण्डीकरण गर्ने क्रममा पुस्तौँदेखि हिँड्दै आएको बाटोसमेत अतिक्रमण गरी बन्द गरिएको स्थानीयवासीको गुनासो छ । हेवेन्स भिलेज प्रालिले काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयबाट ६८ रोपनी जग्गा खण्डीकरणको अनुमति लिइ १२० रोपनी क्षेत्रमा काम गरेको हो ।

कार्यालयका सूचना अधिकारी नरेन्द्र न्यौपानेले दिनुभएको जानकारीअनुसार हेवेन्सले दुईपटक गरी ६८ रोपनी जग्गामा आवास क्षेत्र निर्माणका लागि खण्डीकरण गर्ने अनुमति लिएको थियो । छरिएर रहेको सार्वजनिक जग्गा व्यवसायीले एकीकृत गरी दुई ठाउँमा छोडेको पनि उनले बताए । “सार्वजनिक जग्गाको क्षेत्रफल जति थियो, अहिले पनि त्यति नै छोडिएको छ, ठाउँ फरक परेको हो, राजकुलोको स्थानमा सडक बन्नेछ”, सूचना अधिकारी न्यौपानेले भने । स्थानीयवासी श्यामसुन्दर पण्डितले भने व्यवसायीले एक साताअघिदेखि परापूर्वकालदेखि हिँड्दै आएको बाटो बन्द गरिएको बताए ।

पण्डित थरका करीब १६० घर रहेकामा मन्दिरको दायाँ र बायाँ आधाआधाको बस्ती छ । बीचमा रहेको पण्डितको कुलायनस्थान र देवी मन्दिर जाने बाटो बन्द भएको उनले बताए ।

सार्वजनिक जग्गा मिचेर कित्ता नं ६५४, ६५३, ६५२, ६४७, ६४६, ६३७, ५६१ र ६०३ मा खण्डीकरण भएको भन्दै ६६ जना स्थानीयवासीले गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका छन् । बन्द गरिएको बाटो खुला गरी मिचिएको सार्वजनिक जग्गा, राजकुलो, खहरे र मन्दिर बचाउन माग गरिएको स्थानीयवासी लोकबहादुर कार्कीले बताउनुभयो । व्यवसायीले सात रोपनी सार्वजनिक जग्गा खण्डीकरणमा मिचेको स्थानीयवासीको आरोप छ ।

वडाध्यक्ष कृष्णबहादुर पण्डित पुस्तौँदेखि हिँड्दै आएको बाटो बन्द गरे कानूनी लडाईंमा जान बाध्य हुने बताए । मठ, मन्दिर, राजकुलो र सार्वजनिक जग्गा पनि अतिक्रमण हुन नदिने उनले बताए । जग्गा खण्डीकरण प्रक्रिया शुरु हुन थालेपछि स्थानीयवासीले विसं २०७४ फागुन १ गते वडा कार्यालयमा घरबाटो सिफारिश रोक्का गर्न माग गरेका थिए । वडाले सिफारिश नगरे पनि काम अघि बढेकामा अध्यक्ष पण्डित आश्चर्य प्रकट गरे ।

कित्ताकाट हुनुअघि नयाँपाटी ‘क’ को ८२ नं मा सार्वजनिक जग्गा थियो । सार्वजनिक जग्गा भएको र बाटोसमेत बन्द भएपछि बस्ती, खेती र मन्दिरमा जाने ठाउँ नभएको स्थानीयवासीको गुनासो छ । व्यवसायीले बाटो बन्द गरी बाँकी रहेको जग्गा थोरै मूल्यमा खरीद गर्न खोजेको स्थानीय भीमबहादुर पाण्डेले बताए ।
नगरपालिकाको न्यायिक समितिकी संयोजक एवं उपप्रमुख शान्ति नेपाल उजुरी आएपछि छलफल भइरहेको बताए । बाटो रोक्न नदिने, सार्वजनिक जग्गा कायम गरिने, राजकुलो बन्द नहुने उनले बताए । हेवेन्स भिलेजका सञ्चालक हरि श्रेष्ठलाई यस सम्बन्धमा प्रतिक्रियाका लागि पटकपटक सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउन चाहनु भएन ।

सरकारले खेतीयोग्य जमीन खण्डीकरण गर्न रोक लगाएका बेला मालपोत कार्यालय साँखु, नापी कार्यालय साँखु, प्राधिकरण र व्यवसायीबीचको मिलेमतोमा काम भएको स्थानीयवासीले बताएका छन् ।