समाचार

अपराध नियन्त्रणमा प्रहरीको उल्लेख्य काम

काठमाडौँ । नेपाल प्रहरीले मुलुकको अपराध नियन्त्रणमा विसं २०७५ मा उल्लेख्य काम गरेको बताएको छ । प्रहरीले सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न गृह प्रशासन सुधार योजनाअनुसार काम गरेको बताएको हो । प्रहरी प्रधान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रुपमा व्यावसायिक तथा पारदर्शी ढङ्गले काम गरिरहेको बताए ।

“मुलुकमा हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानून विपरीत काम गर्ने जो कोहीलाई कारवाही गर्छौँ,”–उनले भने । महानिरीक्षक खनालले राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएको बताउँदै यसलाई साथ दिन सञ्चारकर्मीलाई आग्रह समेत गरे । “निर्मला पन्तको हत्यारा, रामबहादुर बम्जनबारे नेपाल प्रहरीले गहिरो ढङ्गले अनुसन्धान गरिरहेको छ,”–महानिरीक्षक खनालले भने ।

नेपाल प्रहरीले नेपालमा अपराध गरेर विदेश गएर बस्ने अपराधीलाई इन्टरपोलमार्फत कानूनी दायरामा ल्याएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशभरका ७५१ स्थानीय तहसँग सम्झौता गरिसकेको बताए ।

“प्रहरीले एक लाख ९४ हजार विद्यार्थी, दुई हजार १९१ विद्यालय र १० हजार २०८ अभिभावकसमक्ष समुदाय–प्रहरी साझेदारी कार्यक्रम लगिसकेका छौँ,”–उनले भने । विसं २०७५ मा मात्र प्रहरीले दुई हजार २६३ फरार अभियुक्तलाई पक्राउ, ४३५ अवैध हातहतियार बरामद, विभिन्न आपराधिक घटनामा ३८ हजार १५१ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिइयो ।

यस्तै ३७ हजार ६८९ व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न ठाउँबाट रु एक अर्ब ९३ करोड ९६ लाख ६० हजार राजश्व सङ्कलन गरेको छ । हाल प्रहरीको अपराध अनुसन्धानमा पाँच प्रतिशत प्रहरी रहेपनि अब त्यसलाई १० प्रतिशत पुर्याउने लक्ष्य राखिएको प्रवक्ता सुवेदीले बताए।
बाल यौन दुराचारमा संलग्न रहेको आरोपमा छ विदेशी र एकजना नेपालीलाई पक्राउ, विध्वंसात्मक गतिविधिमा संलग्न एक हजार ५१४ जनालाई पक्राउ, एक हजार ३१३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

यसैगरी प्रहरीले आन्तरिकतर्फ १८ हजार २९४ जनालाई क्षमता अभिवृद्धि तालीम, ८५ प्रतिशत बेरुजु फछ्यौट, २८ प्रहरी इकाइ पुनःनिर्माण, चार हजार ७७४ प्रहरी कर्मचारीलाई पुरस्कार तथा एक हजार ९८० प्रहरी कर्मचारीलाई कारवाही गरेको छ । एक प्रहरी कार्यालय एक सवारी साधन नीति लिएको प्रहरी प्रधान कार्यालयले देशभरका विभिन्न स्थानमा दुई हजार ५५२ रोपनी जग्गा निःशुल्क प्राप्त गरेको जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउनका लागि प्रहरीले तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको छ ।

यस्तै भर्खरै मन्त्रिपरिषद्बाट पारित भएको ट्राफिक प्रोत्साहन भत्ताले ट्राफिक प्रहरीको मनोबल झन् बढेको प्रहरी प्रधान कार्यालयले बताएको छ । आगामी दिनमा देशभरका विभिन्न भागमा ७५० प्रहरी कार्यालय स्थापनाका लागि आवेदन परेको बताउँदै प्रहरीले उक्त आवेदन परिपूर्तिका लागि २२ हजार ४१८ जनशक्ति आवश्यक रहेको औँल्याएको छ ।

एक प्रहरी एक खाट हुनुपर्ने अभियानलाई पूरा गर्न नेपाल प्रहरीले आगामी दिनमा १२ हजार खाट निर्माण गर्नुका साथै देशभर ७०० मेस तथा शौचालय आवश्यक रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । त्यसैगरी प्रहरीले देशभर एक हजार थान सवारी साधन आवश्यक रहेको बताउँदै उपत्यकाभित्र छिर्ने सवारी साधनको चेकजाँचका लागि अत्याधुनिक भेहिकल एक्स रे सेवा प्रदान गर्न लागिरहेको बताएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी र उनीहरुका आश्रित परिवारको स्वास्थ्य सेवालाई ध्यानमा राखेर गण्डकी प्रदेश र प्रदेश नं २ मा प्रहरी अस्पताल तथा चितवन र सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेको जनाएको छ ।