बाग्मती

सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुँदै

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महीनाको अवधिमा तयार गरेको हो । उक्त भवन निर्माणका लागि दैनिक ४०० को सङ्ख्यामा जनशक्ति अहोरात्र खटिएका थिए ।

नयाँ भवनबाट दैनिकरूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्नसक्ने आयोजना प्रमुख उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए। सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो ।

भूकम्पप्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४३० कोठा रहेको उनले जानकारी दिए। उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ । अलग/अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ । सैनिक मुख्यालयको सङ्गठन संरचना अनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको (भोलि) मङगलबार सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्नुहुने छ । आवश्यकता अनुसार, छाना (छत) मा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जङगी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचना क्षति भएका थिए ।

भूकम्पपछि खुम्चेर काम गर्नु परेपनि छोटो समयमै उच्च गुणस्तरीय ढङ्गबाट मुख्यालय भवन निर्माण भएपछि जङ्गी अड्डामा रहने नेपाली सेनाको जनशक्तिलाई काममा सहज हुनेछ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । नेपालको संविधानको धारा २६७ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रियहितको रक्षाका लागि संविधान प्रतिबद्ध समावेशी नेपाली सेनाको व्यवस्था गरिएको छ ।