प्रदेश 1

खेलमैदान निर्माणका लागि जग्गा दान

खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराएका हुँन । यस्तै सीमित जग्गामा निर्माण गरिएको भवनमा सञ्चालन हुँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रका लागि अन्य आवश्यक संरचना निर्माण गर्न स्थानीयवासी रामकुमार कालीकोटेले पाँच रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । प्राप्त जग्गामा यसै वर्षबाट आवश्यक संरचना निर्माणको काम थालिने जनाइएको छ ।

हालसम्म जथाभावी पार्किङ गरिँदै आइएको यातायातका साधन व्यवस्थित गर्न निर्माण गर्न लागिएको बसपार्कका लागि स्थानीय सन्तवीर तामाङले साविकको ऐंसेलुखर्क–५ मा छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । बस पार्कका लागि थप जग्गा आवश्यक परे स्थानीयवासीले निःशुल्क रूपमै उपलब्ध गराउने बताएका छन् ।

खेलमैदान निर्माणका लागि ११ जना स्थानीयवासीले साँढे २९ रोपनी जग्गा उपलब्ध गराउनुभएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताएका छन् । गाउँपालिकास्तरीय खेलमैदान निर्माण गर्नका लागि धु्रव राजभण्डारी, गोपालकृष्ण राजभण्डारी, रत्नकुमारी राजभण्डारी, पदमकुमारी राजभण्डारी, विष्णुमाया राजभण्डारी, अञ्जना राजभण्डारी लगायतले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

खेल मैदानका लागि भीमबहादुर राजभण्डारी, कमलकुमारी राजभण्डारी, खड्गबहादुर राजभण्डारी, भाइकाजी राजभण्डारी र भूपेन्द्र राजभण्डारीले पनि निःशुल्क जग्गा दिन तयार भएको गाउँपालिकाले जनाएको छ । खेलमैदानका लागि स्थानीय छजना जग्गा दाताले गाउँपालिकाको स्वामित्वमा रहनेगरी जग्गा पास गरिसकेका गाउँपालिका प्रमुख निरौलाले बताए ।

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा यसै वर्षबाट आवश्यक संरचना निर्माणको काम शुरु गरिने गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए । ऐंसेलुखर्कमा गाउँपालिकाको केन्द्र स्थापना भएपछि आवश्यक भौतिक संरचना निर्माण गर्न गाउँपालिकाको पहलमा निःशुल्क जग्गा खोजी भएको थियो ।