गण्डकी प्रदेश

कैदीबन्दीको समयलाई सदुपयोग गर्नुपर्ने

पोखरा । कारागार शाखा कास्की, पोखरामा कारखानाको अभावमा कैदीबन्दीको रुपमा रहेका युवाको जनशक्ति खेर हुँदै गइरहेको देखिएको छ । सो कारागारमा मुढा निर्माण र महिला झोला बुन्ने कामबाहेक अन्य साना उद्योग केही नरहेकाले कारागारका युवालाई समय बिताउन कठिनाइ भएको छ । कुनै व्यावसायिक कार्य नभएकाले आयआर्जन पनि गर्न नसक्ने अवस्था रहेको छ ।

उक्त कारागारमा ७५५ जना कैदीबन्दी रहेकामा अधिकांश कैदीबन्दी २०देखि ४० वर्षको उमेरका छन् । यस्ता युवा जनशक्तिलाई सदुपयोग गर्नका लागि साना उद्योग सञ्चालन गर्नुपर्ने कारागार प्रमुख गणेश गौतमले बताए । एउटा मुढा निर्माण गर्दा बढी रु १३० सम्म कमाइ हुने गरेको छ । उत्पादन गर्नेभन्दा बढी बजारले कमाइ गरिरहेका छन् । सोही मुढा बेच्दा कैदीबन्दीलाई बढी रु १३० कमाइ हुने गरेको छ भने व्यापारीले प्रतिमुढा रु ३०० देखि रु ४०० सम्म नाफा लिएर बेच्ने गरेका छन् ।

कारागार प्रमुख गौतमले कारागारको आफ्नै जग्गा पनि रहेकाले व्यापारिक पसल निर्माण गरी कारागारभित्र उत्पादित सामान बिक्री गर्ने सोचाइ रहेको बताए । उनले भने, “बिक्री कक्ष सञ्चालन ल्याउन सकिए कैदीबन्दीलाई बढी नाफा हुनुका साथै उपभोक्तालाई बजारको तुलनामा सस्तोमा सामान उपलब्ध हुनेछ ।” सबैभन्दा ठूलो समस्या बजारको अभाव पनि हो । यसअघि कारागारमा अगरबत्तीको उद्योग पनि सञ्चालन थियो । बजारले बढी नाफा कमाउनका लागि सस्तोमा खरीद गर्न खोज्दा सो उद्योग बाध्यतावश बन्द गर्नु परेको थियो ।

विसं २०२२ मा स्थापना भएको सो कारागारमा दुईवटा ब्लक पुरुषका लागि र एउटा ब्लक महिला कैदीबन्दीको लागि छुट्ट्याइएको छ । पुरुषको लागि ४०० र महिलाका लागि २५ गरी ४२५ जना क्षमता रहेको सो कारागारमा आजसम्म पुरुष ६९६, महिला ५९ गरी ७५५ जना कैदीबन्दी र आश्रित दुई नाबालकसमेत गरी ७५९ जना रहेको कारागार शाखाले जनाएको छ । कार्यालय प्रमुख गौतमले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको भए पनि कैदीबन्दीलाई सूचना र मनोरञ्जनका लागि खासै समस्या नरहेको बताए । उनले टेलिभिजनको सुविधा र पर्याप्त शौचालय रहेको छ ।

कारागारलाई सुधार गृहको रुपमा परिणत गर्ने सोचाइ भए पनि सामान्यदेखि आपराधिक घटनाका कैदीबन्दीलाई एकै ठाउँमा राखिएको छ । एकै ठाउँमा राखिएको कारणले कतिपय सामान्य कैदीबन्दीमा नकारात्मक प्रभावमा पर्ने सम्भावना प्रबल देखिएको छ । सुधार गृहमा परिणत गर्नका लागि सामान्य घटनाका कैदीबन्दीलाई छुट्टै राख्नुपर्ने हुन्छ ।

कारागारका युवा शक्तिलाई आत्मनिर्भर बनाउनका लागि आवश्यक सीपमूलक तालीमका साथै विभिन्न प्रकारका साना उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रत्येक कैदीबन्दीलाई रासनबापत प्रतिदिन रु ६० का साथै ७०० ग्राम चामल कारागार शाखाले उपलब्ध गराउँदै आइरहेको छ ।