समाचार

तरकारी बेचेरै पढाइ खर्च

खलङ्गा । जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउछन् । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहेका छन् । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताए ।

“विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, राम्रै आम्दानी भइरहेको छ”, उनले भने । तरकारी बेच्न थालेपछि पढाइ खर्च जुटाउन खासै समस्या नभएको योगीको भनाइ थियो । आमा र बुबा बेरोजगार भएकाले आफै तरकारी बेचेर पढाइ खर्च व्यहोर्नुपरेको उनको भनाइ थियो ।

“पहिला पहिला त तरकारी बेच्न बजार आउँदा कसैले केही भन्ने हुन की भन्ने डर लाग्थ्यो, बजारमा आउँदा सानी देखेर होला मैले ल्याएको तरकारी सबै बिक्री हुन्छ”, योगीले सुनाए । विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर महतले योगी विद्यालयको राम्रो विद्यार्थी भएको बताए । तरकारी बेच्न थालेको एक वर्ष भएको र महीनामा तीन हजार कमाइ हुने गरेको उनले जानकारी दिए ।

योगीसँगै सोही ठाउँकी करिश्मा चौलागाईं पनि तरकारी बेचेरै राम्रो आम्दानी गर्छन । निजी विद्यालयमा पढ्ने उनको आवश्यक खर्च जुटाउने माध्यम नै तरकारी बनेको छ ।