राजनीति

कांग्रेसले इटहरीवाट जनजागरण अभियान सञ्चालन गर्ने

धरान । नेपाली कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर बैशाख ११ गतेदेखि ७७ वटै जिल्लामा राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेसंगै सुनसरी कांग्रेसले भव्यताका साथ इटरीवाट शुभारम्भ गर्न लागेको कांग्रेसका सुनसरी प्रवक्ता तथा सचिव सुजेन्द्र तामाङले बताए । सुनसरी पार्टी सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले इटहरीवाट शुभारम्भ गर्ने निर्णय गरेको हो ।

अभियानलाई पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छेदारले संवोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियान (हिपतम) को नामवाट हुन लागेको अभियानका क्रममा महासमिति बैठकवाट पारित नीति, कार्यक्रम, संशोधित विधानबारे सुसुुचित गर्ने, पार्टीमा एकता, समन्वय र हार्दिकता स्थापित गरी पार्टी सुदृढिकरणका विविध गतिविधिहरु सञ्चालन गर्ने, नेपाली कांग्रेसको नेतृत्वमा हासिल गरेको विभिन्न उपलब्धि र कामहरु जनस्तरमा पुर्याउने, सरकारको जनविरोधि कृयाकलापहरुको भण्डाफोर गर्ने, फरक मत र विमतिहरुलाई राष्ट्रिय एकताको सुत्रमा गांस्ने, तीनै तहको सरकारलाई जनपक्षीय कार्य गर्न दवाव सिर्जना गर्ने, हावाहुरी, आगालागी, भुकम्प, बाढी, पहिरो जस्ता विपदमा परेका जनताको उद्दार र पुर्नस्थापनामा मद्दत पुर्याउने, महिला हिंसा लगायत अनेकन घटनाका विरुद्ध जनचेतना फैलाउने, बैदेशिक रोजगारमा भएका वेतिथिहरु अन्त्यका लागि दवाव सिर्जना गर्ने, विदेशमा रहेका लाखौं नेपालीहरुको मतदान गर्न पाउने अधिकार सुनिश्चिताका लागि दवाव पैदा गर्ने, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्ने लगायतका मूद्दाहरु जोड्तोड्ले उठान गरिने प्रवक्ता तामाङले बताए ।

कांग्रेसले तीन चरणमा जनजागरण अभियान सञ्चालन गर्दैछ । यो प्रथम चरणको अभियान जेठ ११ गतेसम्म एक महिना हुनेछ । दोश्रो चरण भदौ २४ गते वीपी जयन्तीवाट १५ दिन र तेश्रो चरण पुस ७ वाट १६ गते राष्ट्रिय मेलमिलाप दिवससम्म सञ्चालन हुनेछ । यसका लागि कांग्रेसले सबै जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।  बैठकमा सुनसरी कांग्रेसका पदाधिकारी, सुनसरी जिल्लास्थित संघ तथा प्रदेशका सांसदहरु, पार्टीका क्षेत्रीय सभापति र नगर सभापतिहरु लगायतको उपस्थिति रहेको थियो ।