गण्डकी प्रदेश

नगरप्रमुखद्वारा कुमालको अभिभावकत्व ग्रहण

दमौली । तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन एक बालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका छन् ।

नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका–७ कलेस्ती निवासी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गराएका हुन् । कुमाल कक्षा २ बाट उत्तीर्ण भई ३ मा भर्ना भएकी छन् । विद्यालयमा आइतबार उपस्थित भई नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व ग्रहण गरेको सोही वडाका अध्यक्ष शतिश न्यौपानेले जानकारी दिए।

न्यौपानेले कुमालको कक्षा १२ सम्मको अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, “म नगर प्रमुखको पदमा बहाल नरहेपनि कक्षा १२ सम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्नेछु ।” आमाले घर छाडेर बुबाले अर्को विवाह गरेपछि कुमाल हजुरबुबा र हजुरआमा बस्दै आएकी छन् ।

व्यास नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाले वैशाख २ गतदेखि शुरु भएको भर्ना अभियानमा सघाउँदै अभिभावकत्व ग्रहण गर्न सबैलाई आग्रह गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔँ’ भन्ने नारालाई मूर्त रुप दिन सामाजिक अभियान्ता, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, इच्छुक व्यक्ति वा सङ्घसंस्थालाई भर्ना अभियानमा सहभागी हुँदै आवश्यकता अनुसार अभिभावकत्व ग्रहण गर्न नगरपालिकाले आग्रह गरेको हो ।

नगरभित्रका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय ल्याई सिकाउन, टिकाउन र अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिस्पर्धी बन्न सक्ने बनाउन गुणस्तरीय शिक्षाको आवश्यकता पर्ने भएकाले भर्ना अभियानमा सबै लाग्नुपर्ने शाखाका प्रमुख उपसचिव अम्बिकाप्रसाद आचार्यले बताए। साथै नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै वैशाख २ देखि १५ गतेसम्म सहज भर्ना अभियानअन्तर्गत बालबालिकालाई मुस्कान, अविर, पाठ्यपुस्तकसहित विद्यालयमा स्वागत गरी निःशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्न निर्देशन दिएको छ ।