अन्तर्राष्ट्रिय

अफगानीस्तानी अदालतद्वारा घानीको कार्यकाल थप

काबुल, अफगानिस्तान ।अफगानिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल निर्वाचनसम्मका लागि थप गर्न आदेश दिएको छ ।राष्ट्रपति घानीको कार्यकाल आगामी मे २२ मा पूरा हुने तर त्यस समयसम्म अर्को नेतृत्व निर्वाचित हुने सम्भावना टरेका कारण निर्वाचनबाट नयाँ नेतृत्व चयन नभएसम्मका लागि कार्यकाल थप गरिएको हो ।

नियमित तालिका अनुसार अफगानिस्तानको राष्ट्रपतीय निर्वाचन यही अप्रिल २० गते हुनुपथ्र्यो तर राजनीतिक खिचातानीका कारण अफगानिस्तानका कतिपय स्थानको निर्वाचन परिणाम घोषणा हुन नसक्दा राष्ट्रपतिको निर्वाचनको मिति दुई पटक सरिसकेको छ । सरकारले जुलाई २० मा राष्ट्रपतीय निर्वाचन सम्पन्न गर्नेगरी तय गरेको तालिका पुनः सरेर सेप्टेम्बर २८ का लागि तोकिएको छ ।

अफगानिस्तानको समाचार संस्था अरिआना न्यूजले अदालतद्वारा जारी विज्ञप्ति प्रकाशन गर्दै भनेको छ, सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल अर्को नेतृत्व चयन नहुँदासम्मका लागि थप गर्ने निर्णय गरेको छ । विज्ञप्तिमा भनिएको छ, “अदालतले देशको निर्वाचन आयोगले सामना गरेको आर्थिक, सुरक्षा तथा बन्दोबस्तीको चुनौतिलाई मनन गर्दै राष्ट्रपतिको कार्यकाल केही महिना थप गर्न सहमति दिएको छ ।”