समाचार

शृङ्खलाबद्ध बम विष्फोटनः प्रम ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्कामा भएको बम बिस्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाई सो घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “आज श्रीलङ्काका विभिन्न सार्वजनिक स्थानमा भएको शृङ्खलाबद्ध बम आक्रमणमा परी कैयौँ निर्दोषले जीवन गुमाउनुपरेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।”

प्रधानमन्त्री ओलीले सन्देशमार्फत उक्त मानवता विरोधी जघन्य घटनाको भत्र्सना गरेका छन्। प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “यस्तो आपराधिक घटनामा संलग्न अपराधीलाई सकेसम्म चाँडै कानूनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु, नेपाल आतङ्कवादविरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतङ्कवादको कडा शब्दमा निन्दा गर्दछ ।”

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताकोतर्फबाट घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । “दुःखको यस घडीमा हामी श्रीलङ्काका मिलनसार जनताका साथ उभिएका छौँ । म घटनामा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, सन्देशमा उल्लेख छ ।