समाचार

अब सरकारले काम गरेर जनतालाई खुशी हुने कार्यक्रम ल्याउँछः मन्त्री अर्याल

भीमदत्तनगर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बेला आएको बताएकी छन् । आइतबार कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित मुक्त हलिया पुनःस्थापना वस्तीको अवलोकन गर्दै मन्त्री अर्याललले अहिले काम गर्ने समय भएको धारणा राखिन् ।

उनले मुक्त हलियाका पक्षमा आवश्यक नीति बनाउन पहल भएको बताईन् । “मुक्त हलियाका पक्षमा बोल्ने व्यक्ति नै अहिले नीति निर्माण तहमा छन्”, मन्त्री अर्यालले भनिन्, “१३ वर्षसम्म मुक्त हलियाको पुनःस्थापना हुन नसक्नु दुःखद् हो ।” उनले चालू आर्थिक वर्षमा मुक्त हलिया पुनःस्थापना भइसक्ने दाबीसमेत गरिन्।

उनले मुक्त हलियालाई आगामी वर्षमा सीपमूलक तालीम तथा रोजगारी दिने खालका लक्षित कार्यक्रम सरकारले ल्याउने जानकारी दिईन् । मन्त्री अर्यालले यहाँको मालपोत कार्यालय, भूमि सुधार कार्यालय र नापी कार्यालयको निरीक्षणसमेत गरेकी थिईन् । कार्यालयको अवलोकन गर्दै उनले मालपोत र नापी कार्यालयको काम डिजिटल प्रविधिमा हुने बताईन्।

“अब सरकारले सेवालाई प्रविधिमैत्री बनाउँछ, जनतालाई खुशी हुने कार्यक्रम ल्याउँछ”, मन्त्री अर्यालले भनिन्, “कर्मचारीले काममा ढिलासुस्ती गर्नुहुन्न ।” सो क्रममा हलिया मुक्ति समाजका अध्यक्ष सिपी लोहारले कञ्चनपुरमा दुई हजार ५०० मुक्त हलियामध्ये एक हजार ८०० मुक्त हलियाले परिचयपत्र पाएको बताईन् । एक हजार ४०० मुक्त हलिया पुनःस्थापन भएको अध्यक्ष लोहारको भनाइ छ ।