खेलकुद

एपिएफ, प्रदेश १, पुलिस र आर्मी सेमिफाइनलमा

बाँके । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छनोट चरणको अन्तिम खेलमा प्रदेश १ विजयी भएको छ ।

प्रदेश १ ले कर्णाली प्रदेशलाई ५० रनले हरायो । कर्णालीले टस जितेर फिल्ड रोजेपछि प्रदेश १ ले निर्धारित २० ओभरमा १२३ रन बनायो । उसका लागि मुकुन्द यादवले ३२, राजन मगरले २३, पुष्प थापाले १७ र श्रवण यादवले १३ रन बनाए । बलिङतर्फ कर्णालीका गणेशविक्रम सिंहले तीन तथा दिनेश अधिकारी र प्रकाश जोशीले दुई/दुई विकेट लिए ।

एक सय २४ रनको लक्ष्य पछ्याएको कर्णाली १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ७३ रनमै समेटियो । कर्णालीका रवीन्द्रजङ शाहीले १६, दिनेश पुनले १५ तथा प्रकाश जैशीले १० रन बनाए । बलिङतर्फ प्रदेश १ का फ्रिदोष अन्सारी, दिपेश कँडेल, पुष्प थापा र अभ्यास तिमल्सीनाले दुई/दुई तथा मुकुन्द यादवले एक विकेट लिए । उक्त खेलको प्लेयर अफ द म्याच प्रदेश १ का पुष्प थापा घोषित भए ।

भैरहवामा एपिएफ क्लब विजयी

भैरहवास्थित सिद्धार्थ रङ्गशालामा सम्पन्न खेलमा एपिएफ क्लब विजयी भएको छ । उसले पुलिस क्लब दुई रनले हराएको हो । टस जितेर ब्याटिङ गरेको एपिएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि प्रदीप ऐरीले एक छक्का तथा तीन चौकाको मद्दतमा ४० रन, शङ्कर रानाले २० तथा अनिल शाहले १६ रन बनाए ।

बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले ४, रामनरेश गिरी र ललित राजवंशीले दुई/दुई तथा आरिफ सेख र सागर ढकालले एक/एक विकेट लिए । एक सय १६ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको पुलिस क्लबले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ११३ रन बनायो । पुलिस क्लबका लागि आरिफ सेखले २४, दीपेन्द्रसिंह ऐरीले २३ र दिलिप नाथले १८ रन बनाए । बलिङतर्फ एपिएफका कमलसिंह ऐरी र भुवन कार्कीले दुई/दुई तथा शरद भेषवाकरले एक विकेट लिए । एपिएफका कमलसिंह ऐरी म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई १५ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको प्रदेश ५ ले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाई १०३ रन बनायो । उसका लागि निश्चल चौधरीले एक छक्का र दुई चौकासहित ३४ रन बनाए । सुरज दरईले एक छक्का र तीन चौकाको मद्दतमा ३४ तथा शौरभ खनालले ११ रन बनाए ।

बलिङतर्फ गण्डकीका करण केसीले ३, किशोर महतो, विपन खत्री र विशाल पौडेलले दुई/दुई विकेट लिए । एक सय ४ रनको विजयी लक्ष्यसहित ब्याटिङ गर्न मैदानमा उत्रेको गण्डकीले नौ विकेट क्षतिमा ८८ रन मात्र बनायो । उसका लागि आकाश थापाले २६, गोविन्द प्रधानले १८ र सन्तोष न्यौपानेले १० रन बनाए । बलिङतर्फ प्रदेश ५ का विक्रम भुसालले ५, सन्दीप सुनार र कृष्ण कार्कीले एक/एक विकेट लिए । भुसाल म्यान अफ द म्याच घाषित भए । सेमिफाइनल खेल एपिएफ क्लब र प्रदेश १ बीच तथा पुलिस क्लब र आर्मी क्लबका बीच हुने छ ।