राजनीति

न्यायसहितको आर्थिक समृद्धितर्फ नेपालको विकासलाई अघि लिएर जान्छौँः अध्यक्ष दाहाल

चितवन । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताएका छन् ।

जिल्ला सहकारी सङ्घ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन कार्यक्रममा उनले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताए । तीन खम्बे अर्थ नीतिअन्तर्गतको सहकारी अन्ततः सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अनिवार्य सर्त भएको भन्दै उनले समाजवादोन्मुख राज्यको परिकल्पना गरिएको बताए ।

उनले भने, “हामी सबै प्रमुख राजनीतिक दल र नेताले राष्ट्रिय सहमतिका साथ एउटा सङ्कल्प गरेका छौँ, हामी सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ नेपाललाई लिएर जाने छौँ ।” संविधानले नै अर्थ नीतिको परिकल्पना गर्दा तीन खम्बे नीति भनेर सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थतन्त्रलाई अगाडि बढाउने स्पष्ट निर्देश गरेको उनले बताए।

संविधानअनुसार नै आवश्यक नियम ऐन बन्ने प्रक्रिया अगाडि बढिरहेको उनले बताए । दाहालले नेपालको पहिलो सहकारी बखान सहकारी चितवनमा नै रहेको भन्दै सहकारी अभियानको संस्थापक जिल्ला भएको पनि बताए । देशमा विकास निर्माणका थुप्रै रेकड राख्ने काम हुँदै गएकोमा धेरै चितवनमा हुने भन्दै त्यसको पनि केन्द्र भरतपुर महानगर रहने बताए । सो पम्प दर्ताको प्रक्रियामा आफूले समेत सहयोग गरेको दाहालको भनाइ थियो ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष टीकाराम भट्टराईले जिल्लाका २९४ सहकारीको रु २५ हजारदेखि पाँच लाखसम्मको लगानीमा पम्प शुरु गरिएको बताए । सोही अवसरमा सङ्घले निर्माण गरेको पम्प निर्माण उपसमितिका संयोजक भक्तिराम अधिकारीले अन्य पम्पको भन्दा प्रतिलिटर २५ पैसा सस्तोमा तेल बिक्री गरिने बताए ।

भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो । पम्प निर्माणका लागि रु चार करोड ६६ लाख ३७ हजार खर्च भएको अधिकारीले बताए । अत्याधुनिक प्रविधिबाट नमूना पम्प निर्माण गरेको बताउँदै उनले पेट्रोल र डिजेल गरी एक लाख चार हजार लिटर क्षमता रहेको बताए । एकै पटकमा आठ वटा गाडीमा तेल हाल्ने व्यवस्था मिलाइएको छ ।

एक बिघा क्षेत्रफलमा फैलिएको पम्पमा अपाङ्गमैत्री शौचालय, भान्छा घर, ग्रोसरी, ज्याक वास, हावा भर्ने ठाउँलगायत सबै सुविधा रहेको छ । सोही क्षेत्रमा २२ वटा सटरसमेत निर्माण गरी यात्रुलाई सेवा दिन लागेको अधिकारीले बताए । एक वर्ष अघि निर्माण थालिएकोमा हालै मात्र आयल निगमद्वारा सञ्चालन अनुमति दिएपछि पम्प सञ्चालनमा आएको हो । चौबीसै घण्टा पम्प सञ्चालन गरिने जनाइएको छ ।सङ्घले सोही ठाउँमा बहुउद्देश्यीय भवन र फूलबारीमा तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने योजना बनाएको सङ्घका उपाध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिएका थिए ।