समाचार

यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु

धादिङ । पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

काठमाडौँबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस उछिन्ने क्रममा सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशीर र सोहि ठाउँका पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।

हरिवंशको घटनास्थलमै मृत्यु भएको हो भने पार्वतीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई भने मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।