बाग्मती

स्थानीयवासीसँग विकास योजना माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडाका बासिन्दासँग आगामी आर्थिक वर्षको विकास योजना लिएर आउन आग्रह गरेको छ । आआफ्नो वडाको विकासका लागि आवश्यक माग लिएर आउन सबै वडालाई यही वैशाख १२ गतेसम्मको समय दिइएको छ ।

आगामी आव २०७६/०७७ का लागि तयार गरिने वार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग विकास योजना माग गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार यसका लागि योजना माग गर्ने व्यक्तिले कामबाट लाभ प्राप्त गर्ने वर्ग तथा समुदायसँग छलफल गर्नुपर्नेछ । त्यसका लागि कामपाका ३२ वटै वडामा वडा समिति गठन गरिसकिएको छ । स्थानीयवासीको छलफलपछि आएका विकासका योजना बढी प्रभावकारी हुने भएकाले यस किसिमको अभ्यासको शुरुआत गरिएको हो ।

माग गरिएको योजनाबाट धेरैलाई लाभ पु¥याउन आपसी अन्तक्र्रिया, छलफल र विचारविमर्श गरेर वडा समितिको योजना बुझाउनपर्नेछ । स्थानीयवासीबाट आएका योजना वडा समितिमा पेश हुनेछन् । पेश भएका योजनाको प्राथमिकीकरण गरिने कामपाले जनाएको छ ।

टोलवासीबाट प्राप्त भएका योजनामा वडा कार्यालयले देखेका योजना थप हुनेछन् । यसरी सङ्कलित योजनालाई वडा समितिले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकासजस्ता क्षेत्रमा वर्गीकरण गर्नेछ । स्थानीयवासीले तयार पारेको विकास योजनाका अधारमा सम्बन्धित वडामा विकासको काम, योजना र बजेट तयार हुने बताइएको छ ।