साहित्य

राईको ‘आमा र जून’ सार्वजनिक

काठमाडौँ । कवि कविता राईको पहिलो कवितासङ्ग्रह ‘आमा र जून’ सार्वजनिक भएको छ । राईको कविता शनिबार सङ्घीय संसद्का सांसद सुदन किराँतीले कृति लोकार्पण गर्दै साहित्यले राजनीतिलाई मार्गदर्शन गर्नुपर्ने बताए । “उनको कविताले मेरै जीवन बोलेको हो कि जस्तो महसुस गरायो”, उनले भने। मेक्सिम गोर्कीले ‘आमा’ उपन्यास लेखेकै कारण रुसमा राजनीतिक परिदृश्य कायापलट भएको र लुसुनको साहित्य र माओको क्रान्ति एकआपसमा अन्तरसम्बन्धित भएको भन्दै उहाँले समाज परिवर्तन र राष्ट्रको समृद्धिमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका डा हेमनाथ पौडेलले लोकार्पित कृतिभित्र ग्रामीण जीवन र परिवेशलाई समेटिएको बताए । “कवितामा लोकभावना र लोकसंवेदनालाई सरल ढङ्गबाट प्रस्तुत गरिएको छ”, उनले भने।  समालोचक डा नारायण गडतौलाले लोकार्पित कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै कविले आफ्नो अन्तरले देखे तथा भोगेको जीवन र सुनेको स्वर्गलाई बुनेर यथार्थ र कल्पनाको सुन्दर कला बुनेको बताए ।

प्रा.डा. जीवेन्द्रदेव गिरी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, प्रदेशसभा सदस्य राजेन्द्र राई, पूर्वसांसद जयन्ती राई र गीतकार टीका चाम्लिङले कवि राईका कविता सरल र सम्प्रेषणीय हुनाका साथै अब्बल भएको जिकिर गरे । कार्यक्रममा कविता लेखनको अनुभूतिसहित कृतिका स्रष्टा राईले ‘बाबा’, ‘रुवाइ’ तथा ‘आमा र जून’ शीर्षकका तीन कविता तथा कवि बाबा बस्नेतले ‘सोल्टीज्यू’ शीर्षक कविता वाचन गरेका थिए ।